हाईयर कमान्ड तथा म्यानेजमेन्ट तालिम शुरू


नेपाल समाचारपत्र, काठमाडौं ।

बलाधिकृत रथी शरदकुमार गिरीले नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सञ्चालन भएको सिसं ७ हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिमको एक विशेष समारोहका बीच शुभारम्भ गर्नुभएको छ ।

२५ जना महासेनानी शिक्षार्थीहरूको सहभागिता रहेको उक्त तालिमको शुभारम्भमा सम्बोधन गर्नुहुँदै बलाधिकृत रथी गिरीले यस किसिमका तालिमले तालिममा सहभागी शिक्षार्थी अधिकृतहरूको पेसागत ज्ञान बढ्न गई समग्र संस्थाको क्षमता अभिवृद्धिमा थप टेवा पुर्याउने विश्वास व्यक्त गर्नुहुँदै हालको जटिल अपरेसनल वातावरणमा समयसापेक्ष निर्णय लिन सक्ने भावि नेतृत्व उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो ।

साथै सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

साथै नेपाली सेनामा पहिलोपटक सञ्चालन गरिएको सिसं १ अल आर्मस कमान्ड तथा स्टाफ कोर्ष तालिमको सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी श्रेष्ठले प्रथम प्रवचन गर्नुभएको छ ।

५० जना शिक्षार्थी अधिकृत समावेश गराई सञ्चालन भएको उक्त तालिममा आर्मी कमान्ड तथा स्टाफ तालिमको प्रवेश परीक्षामा उत्तीर्ण भई मर्यादाक्रममा नपरेका अधिकृतहरूलाई सहभागी गराई सञ्चालन गर्न लागिएको हो ।

नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सञ्चालन गर्न लागिएको उक्त तालिमहरू कोभिड–१९ को सम्भावित संक्रमणलाई मध्यनजर गरी डाक्टर अधिकृतबाट स्वास्थ्य परीक्षण गरी रोग नलागेको यकिन गरेपश्चात् मात्र शिक्षार्थी अधिकृतहरूलाई पूर्णरूपमा क्वारेन्टाइनमा राखी सामाजिक दूरी कायम गरी सञ्चालन गर्न लागिएको हो ।