ललितपुर महानगरले ल्यायो कृषि कार्यक्रम,मल र बिउ अनुदानमा दिइने

0
Shares

न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर महानगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लागू गरेको लकडाउनले उपत्न्न गरेको संकटलाई हल गर्न कृषिसँग सम्बन्धित कार्यक्रम अघि बढाएको छ ।

उक्त कार्यक्रम अन्तर्गत कृषि गर्न चाहनेलाई मल र बिउ अनुदानमा दिइने महानगर प्रमुख चिरीबाबु महर्जनले बताए ।
महानगरपालिकाले खुल्ला ठाउँ भएको र नभएको वडाहरुलाई लक्षित गरी दुई किसिमको कृषि कार्यक्रम ल्याएको जनाएको छ ।

उनले भने, ‘खुल्ला ठाउँ भएका वडाहरुको लागि धान, मकै, गहुँ उत्पादनलाई प्रोत्साहित गरिन्छ , घर मात्रै भएका खाली जमिन नभएका वडाहरुमा कौसी खेती गर्ने गरि कार्यक्रम ल्याएका छौ । ’ प्रमुख महर्जनले लकडाउनले सिर्जित अवस्थालाई ध्यान दिएर आत्मनिर्भरताका लागि यो कार्यक्रम ल्याएको बताए ।

नगरको २९ वटै वडामा संंचालन हुने यो कार्यक्रमले नगरका पचास प्रतिशत बासिन्दालाई कृषिमा आत्मनिर्भर बनाउने महानगरले बताएको छ । आर्थिक विकास समितिका संयोजक रविन्द्र महर्जनले घरमात्रै भएका जमिन नभएकालाई कौसी खेती गर्न विउ वितरण गरिएको बताए ।

उनका अनुसार जमिन हुनेहरुको लागि धान र मकै प्रागारिक मल वितवरण गरिएको छ । कौसी खेतीका लागि सीमी, मुला , धनियाँ र रायोको सागको बीउ अनुदान दिइएको छ । यसैगरी जमिन भएकाहरुकालाई मकै, भटमास, धानको बीउ र गड्यौलाको प्रांगारिक मल केही वडामा वितरण भएको केहीमा वितरणको तयारी भइरहेको वडा नं २१का अध्यक्ष रविन्द्र महर्जनले बताए ।

महानगरपालिकाले नगरभित्रको बाँझो जमिन खनजोत गर्न पनि आव्हान गरेको छ । त्यस्ता जमिन खनजोत गरी उत्पादन गर्न चाहने व्यक्तिलाई महानगरले ट्याक्टर किनिदिने तयारी गरेको छ । संयोजक महर्जनले भने, ‘जमिन जोत्न किसानलाई गाह्रो पर्ने भएकाले ट्याक्टर खरिदका लागि कार्यक्रम बनाउँदैछौ । ’