छुवाछूतका घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग

0
Shares

काठमाडौँ।

राष्ट्रिय दलित नेटवर्क नेपालले पछिल्लो समयमा जाजरकोट, सिरहा, पाँचथर, कालिकोट र रुपन्देहीलगायत देशका विभिन्न स्थानमा भएको जातीय भेदभाव तथा छुवाछूतका घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग गरेको छ । नेटवर्कका अध्यक्ष गणेश विश्वकर्माले आज प्रेस विज्ञप्ति जारी गरी हालै पोखरा, पाल्पा, गुल्मी, धनकुटा, मोरङ, जाजरकोट, बैतडीलगायतका घटनामा संलग्न दोषीलाई कानूनअनुसार कारवाही नभएको भन्दै तत्काल कारवाही गर्नुपर्ने माग गर्नुभएको हो ।

“कोभिड–१९ को विश्वव्यापी महामारीका कारण दुई महिनादेखि बन्दाबन्दीको कारण भोक, रोग तथा अभावमा कष्टपूर्ण जीवन बिताइरहेको बेला दलितमाथि यसखाले जातीय छुवाछूत र भेदभावजन्य घटना घट्नु, ती घटनाका विरुद्धमा स्थानीय प्रहरी प्रशासन मुकदर्शक बन्नु र स्थानीय सरकार, राजनीतिक दल तथा मूलधारको नागरिक समाजसमेत बेखबर हुनुले हामीलाई दुःखी बनाएको छ”, विज्ञप्तिमा भनिएको छ ।

शनिबार मात्रै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँगको अन्तरजातीय प्रेम सम्बन्धका कारण स्थानीयको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको नेटवर्कले जनाएको छ ।

यसअघि अन्तरजातीय विवाह र प्रेम सम्बन्धका कारण गैरदलित समुदायबाट हत्या गरिएका काभ्रेका अजित मिजार, सप्तरीका शिवशङ्कर दास, दैलेखका सेते दमाइ, झापाकी अस्मिता तोलामी सार्की, तनहुँकी सङ्गीता परियार, सिन्धुपाल्चोककी माया तिरुवा र म्याग्दीकी सविता नेपालीको घटनामा राज्यले दोषीलाई कुनै पनि किसिमको कारवाही हुन नसकेको विज्ञप्तिमा भनिएको छ ।