अनर्गल भिडियो बनाएर युट्युबमा पोष्ट गर्ने पक्राउ

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

संविधानसभा सदस्य मञ्च अध्यक्ष अनन्त पौडेलको परिवारको विषयमा अनर्गल प्रचार गर्दै भिडियो बनाएर युट्युबमा पोष्ट गर्ने एकजनालाई वडा प्रहरी कार्यालय हेटौंडाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा बस्ने निजगढ नगरपालिका वडा–१२, रतनपुरका नितेशराज रिजाल रहेको वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरी भण्डारीले जानकारी दिनुभयो ।

हेटौंडामा बसेर कक्षा–१२ अध्ययन गरिरहेका उनले आफूले उक्त भिडियो पोष्ट गरको स्वीकार गरेको प्रहरीले जनाएको छ । फेसबुकमा आएको भ्वाइस क्लिपको आधारमा आफूले उक्त भिडियो बनाएको उनले बताएको प्रहरीको भनाइ छ ।
संविधानसभा सदस्य पौडेलले आफ्नो र आफ्नो परिवारको विषयमा अनावश्यक हल्ला आएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । र, यसबारे अनुसन्धान गर्न प्रहरी आग्रह गर्नुभएको थियो ।

नेता पौडेलले आफ्नो र आफ्नो परिवारको तर्फबाट कुनै पनि लापरबाही नगरिएको र सचेत हुँदाहुँदै पनि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा अनावश्यक हल्लाहरु आइरहेकाले दुःखी बनाइरहेको भन्दै उहाँले लकडाउनको पूर्णपालना गर्दा गर्दै यस्तो नहुनु पर्ने घटना हुन गएको बताउनुभयो । उहाँले सबैलाई कोरोना संक्रमण नहोस् भनेर थप सचेतता अपनाउन सुझाव दिनुभएको छ ।