जुम्ला,
जुम्लामा लकडाउन उल्लङ्घन गर्ने र सवारी पास दुरुपयोग गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ । गत चैत १० देखि जेठ १० गतेसम्म ६७१ सवारीसाधनलाई प्रहरीले नियन्त्रण लिई कारवाही गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो । उहाँले भन्नुभयो, “९६ चारपाङ्ग्रे ठूला सवारी साधन र ५७५ दुईपाङ्ग्रे मोटरसाइकल गरी जम्मा ६७१ सवारी साधन नियन्त्रणमा लिई कारवाही गरिएको छ ।”
निश्चित प्रयोजन र समयावधिका लागि भनी तोकिएको पासलाई अवधि समाप्त भएपछि वितरित पासको प्रयोग गरी दुरुपयोग गरेको पाइएकाले सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरेको प्रशासनले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन तथा रोकथामका लागि लकडाउन गरिएकाले पालना गर्न गराउन थप कडाइ गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो ।
दुई हजार ७०० को पिसीआर जाँच, रिपोर्ट नेगेटिभ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दुई हजार ७६० को पिसीआर परीक्षण गरिएकामा सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये माथिल्लो कर्णालीका चार जिल्ला मुगु, हुम्ला, कालीकोट र जुम्लाबाट सङ्कलित स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।
प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले प्रतिष्ठानमा शुक्रबारसम्म सङ्कलित स्वाबको पिसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।
भारत गएका तथा देशका विभिन्न स्थानमा रहेका स्थानीयवासी भित्रिने क्रम बढदै जान थालेपछि स्वास्थ्यकर्मीको टोली खटाएर स्वाब सङ्कलन गर्ने कार्यलाई तीव्रता दिइएको डा रावलले बताउनुभयो । कालीकोटबाट ६९५, मुगुबाट ३५१, जुम्लाबाट एक हजार २७३, हुम्लाबाट ४०८ स्वाबको पिसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।
आरडिटी पोजेटिभ देखिएका हुम्ला नाम्खाका दुई र मुगु खत्याड गाउँपालिकाका एक जनाको पिसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा पिसीआर उपकरण सञ्चालनमा नआउनुअघि जुम्लाका ३३९ को पिसीआर र २७२ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
प्रतिक्रिया