ट्रम्पले चर्च तथा प्रार्थनास्थल खोल्ने


वासिङ्टन, (एजेन्सी)

कोरोना संकटको खतरा र वैज्ञानिकहरूको सल्लाहका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लकडाउन खुकुलोपना विस्तार गर्ने सोचमा रहेका छन् । राष्ट्रपति ट्रम्पले अब राज्यमा चर्चलगायत सबै प्रार्थनास्थल खुला गर्न भनेका छन् ।

ट्रम्पले प्रार्थनास्थललाई जरुरी स्थानको सूचीमा राख्दै त्यसलाई खोल्न आवश्यक सेवामा पर्ने बताए । कोरोना महामारी फैलिएपछि अमेरिकामा चर्चसहित सबै प्रार्थनास्थल बन्द गरिएको थियो ।

ह्वाइट हाउसमा सञ्चारमाध्यमलाई ट्रम्पले भने– ‘मेरो निर्देशनमा सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन फरक फरक समुदायका लागि गाइडलाइन जारी गर्न गइरहेको छ । आज मैले प्रार्थनाघर, चर्च, सिनागग र मस्जिदलाई आवश्यक स्थानको श्रेणीमा राखेको छु किनभने यसले आवश्यक सेवा प्रदान गर्छ ।’

यसअघि अमेरिकी राष्ट्रपतिले अमेरिकामा कोरोनाको दोस्रो लहरको स्थितिमा देशमा लकडाउन नहुने बताएका थिए । स्थायी लकडाउन स्वस्थ राज्य वा स्वस्थ देशका लागि एक रणनीति नहुने उनले बताए । कहिल्यै अन्त्य नहुने लकडाउनले एक सार्वजनिक स्वास्थ्य संकट आउने उनले बताए ।

ट्रम्प देशका कैयौं वरिष्ठ वैज्ञानिक तथा चिकित्सकहरूको सल्लाहलाई खारेज गर्दै लकडाउन हटाउन चाहन्छन् । वैज्ञानिकहरूले यस्तो कदम चाल्नु हतार हुने बताएका छन् । यसबाट कोरोनाको संक्रमणलाई रोक्नमा समस्या आउन सक्छ । तर ट्रम्प लगातार आफ्नो देशका डाक्टर तथा वैज्ञानिकविरुद्ध बयानबाजी गरिरहेका छन् ।

अमेरिकामा अहिलेसम्म १५ लाखभन्दा धेरै नागरिक कोरोनाको चपेटामा आइसकेका छन् । देशमा संक्रमणका कारण ९५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार देशमा जुनको शुरुआतसम्ममा कोरोना महामारीबाट मर्नेको आँकडा एक लाख पुग्नेछ ।