प्रधानमन्त्रीले लिपुलेकबारे दह्रो खुट्टा टेक्नुपर्छ –किराती


न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादीका युवा नेता मिलनकान्छा किरातीले लिपुलेकबारे प्रधानमन्त्रीले दह्रो खुट्टा टेक्नुपर्ने बत्ताएका छन् । उनले भने, ‘यस विषयमा जसपाले सरकारलाई साथ दिन्छ । तर, अनेक अपराध, त्रुटि र कमजोरीलाई ढाकछोप गर्न नक्सा फण्डा गरिएको होभने त्यो ठुलो दुर्भाग्य हुनेछ । प्रधानमन्त्रीले दह्रो खुट्टा टेक्नुपर्छ । सम्पूर्ण नेपाली एकजुट भएर भूमि फिर्ता ल्याउनुपर्छ ।’

लिपुलेक, लिम्पियाधुरा, कालापानी फिर्ता ल्याउन डा. बाबुराम भट्टराईले केही समय अगाडी नै सर्वदलीय बैठकमा नक्सा जारी गर्न र भारतसँग वार्ता संवाद अघि बढाउन सरकारलाई सुझाव दिएको स्मरणगर्दै अहिले केही मुठीभरका मिडियाहरु बाबुरामको विरोधमा हात धोएर लाग्नुको अर्थ बुझि नसक्नु रहेकोसमेत उनले बत्ताए ।

उनले थपे, ‘अझ सत्तारुढकै एकजना युवा विध्यार्थी नेता भनिने व्यक्तिले डा.बाबुराम भट्टराईलाई सार्वजनिक रुपमा श्रद्धाञ्जली दिनुजस्तो घृणित र निच अभिव्यक्तिको जति निन्दा गरे पनि कम हुन्छ । यस्ता प्रवृति बोकेका उमेरले युवा तर विचारले प्रौढहरुले राजनीतिबाट सन्यास लिइदिए समाज बदल्न अहोरात्र खटिने उर्जाशील युवाहरुलाई न्याय हुनेथियो । नयाँ पुस्ताले राजनीतिको विद्यमान फोहर सफा गर्न सक्ने थिए ।’ नयाँ पुस्ताले राजनीतिलाई सभ्य र शिष्ट बनाउन सक्नुपर्ने उनको भनाई थियो ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रियता र स्वाधीनताको पक्षमा लडेर इतिहास रच्ने मौका आएकोले सत्यनिष्ठ भएर लड्न र पछि नहट्न सुझाव दिए । नयाँ नक्साअनुरुप देसको निसान छापमा परिमार्जन गर्न संविधान संशोधनको प्रकृया अघि बढाउने कुरा स्वागतयोग्य रहेको भन्दै त्यसबेला आदिवासी, जनजाति, मधेशी, मुस्लिमले राख्दै आएको मागको विषयलाई पनि समेट्न सके संविधानकै गरिमा उच्च रहने उनको धारणा थियो ।