मनमोहनका बिरामी गणेशमानमा सारियो, मुटु सेवा स्थगित


भगवती तिमल्सिना, काठमाडौं ।

मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक जना हेटाैंडाकी मुटुरोगीमा कोरोना संक्रमण प्रमाणित भएपछि संक्रमित बिरामीलाई त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको कोरोना आइसोलेसन सेन्टरमा सारिइसकेको छ ।

उपचारका क्रममा संक्रमितको सम्पर्कमा आएका डाक्टर नर्स तथा अन्य कर्मचारीलाई ट्रेसिङ गरी क्वारेन्टिनमा राख्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

मुटुरोगको उपचारका लागि ६ दिनअघि मनमोहन कार्डियोमा भर्ना भएकी हेटौंडा–४ हुप्र मकवानपुर स्थायी घर भएकी ५४ वर्षीया महिलाको मनमोहनको सीसीयू कक्षमा राखेर उपचार भइरहेको थियो । उहाँलाई हेटौंडा अस्पतालमा उपचार नभएपछि गंगालाल हृदय केन्द्रमा रिफर गरिएको र गंगालालले मनमोहन कार्डियोमा रिफर गरिएको बुझिएको छ ।

संक्रमित महिलाको शुक्रबार कोरोना पोजेटिभ प्रमाणित भएको थियो । यति बेला मनमोहन कार्डियोथेरासिकका विशेषज्ञलगायत धेरै स्वास्थ्यकर्मी संक्रमित महिलाको कन्ट्रयाकमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा पुगेकाले हाललाई मुटुरोग सेवा स्थगित गरिएको अस्पतालले जनाएको छ ।

कन्ट्रयाक ट्रेसिङ गरी सबैको परीक्षण रिपोर्ट नआएसम्म सेन्टरले मुटुरोगको ओपीडीसँगै क्याथ ल्याबसमेत बन्द गर्ने निर्णयमा पुगेको अस्पतालका एक उच्च अधिकारीले जानकारी गराए ।

अहिलेसम्म कन्ट्रयाक ट्रेसिङमा झन्डै ३५ जना आइसकेका र थपिने क्रम जारी रहेकाले कुल संख्या यकिन भइनसकेको बुझिएको छ ।

संक्रमित महिला राखिएकै सीसीयू कक्षमा उपचार गराइरहेका अन्य ६ जना बिरामीलाई पनि त्रिवि शिक्षण अस्पतालकै गणेशमान भवनको कोभिड क्वारेन्टाइनमा सार्ने योजनासहित छलफल भइरहेको अस्पतालका एक चिकित्सकले जनाएका छन् ।

मनमोहन कार्डियोका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई भने कार्डियो थोरासिककै माथिल्लो तल्लामा र त्रिवि शिक्षण अस्पताल खाली ठाउँ या कुनै सुरक्षित ठाउँमा रहेका होटलको खोजी कार्य शुरू भएकोे स्रोतले जनाएको छ ।

ट्रेसिङमा ठूलो संख्या हुने भएकाले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुरूप पालना गर्दै दूूरी कायम गरेर बस्न ठूलो ठाउँको आवश्यकता हुन्छ ।

ग्रान्डीका संक्रमित पाटनमा

ग्रान्डी इन्टरनेसनल अस्पतालको ल्याबमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलसनमा सारिएको छ । कोरोना प्रमाणित भएका ती कर्मचारी ग्रान्डीको ल्याबमा काम गरिरहेका थिए ।

उनलाई कोरोना पुष्टि भएपछि पाटन अस्पतालको आइसोलसनमा लगिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी गराउनुभएको छ । उहाँले ग्रान्डीका कर्मचारीको शनिबार बिहान मात्र कोरोना पुष्टि भएको र दिउँसो पाटन अस्पताल लगिएको तथा उनी कार्यरत ग्रान्डी अस्पतालको सम्बन्धित विभाग मात्र सिल्ड गरी कन्ट्रयाक ट्रेसिङ शुरू गरिएको जानकारी गराउनुभयो ।

शनिबार बिहान कोरोना पुष्टि भएका काठमाडौंका ३५ वर्षीय पुरुष ग्रान्डीका ल्याब कर्मचारी भएको अस्पताल स्रोतले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ग्रान्डी र मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा र ग्रान्डीमा संक्रमितसँग प्रत्यक्ष जोडिएको एरिया सिल्ड गरी निर्मूलीकरण गर्ने र कन्ट्रयाक टे«सिङ लिने कामलाई सुचारु राख्दै सेवा अवरुद्ध नहुने गरी काम गरिएको छ ।