कोरोना पुष्टिपछि ओपीडी सेवा बन्द

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

हेटौंडा स्थायी ठेगाना भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि हेटौंडा अस्पतालले बहिरंग (ओपीडी) सेवा बन्द गर्ने भएको छ । उक्त अस्पतालमा उपचार गरी काठमाडौं रिफर गरिएकी महिलामा कोरोना पुष्टि भएपछि तत्काललाई उक्त सेवा बन्द गर्न लागिएको हो ।
शनिबार अस्पतालका चिकित्सक तथा नर्सलगायत २२ जनालाई आइसोलेसनमा राख्ने निर्णय भएको अस्पतालका कोरोना विभागका डा. हरिबहादुर खड्काले जानकारी दिनुभयो ।

अस्पतालका १ सय ५५ जनाको पीसीआर विधिमार्फत् कोरोना परीक्षण गर्ने जनाइएको छ ।बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालका अनुसार कोरोना संक्रमित महिलासँग विभिन्न चरणमा भेट भएका वा उनको उपचारमा संलग्नलगायतको खोज र पहिचान गरी परीक्षण गर्ने तथा आइसोलेसनमा राख्ने कार्य भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेटौंडा–३ की ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको सूचना सार्वजनिक गरे पनि ती महिला हेटौंडा उपमहानगरपालिका वडा–४ की स्थायी बासिन्दा भएको खुलेको हो । उनी ६ दिनअघि परिवारसहित गएर काठमाडौंमा उपचार गराइरहेकी छिन् । उनको स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ ।

जेठ ४ गते हेटौंडा अस्पतालबाट रिफर भएर काठमाडौं गएकी ती महिलाको स्वाब काठमाडौंमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । उनी हेटौंडाबाट गएकोले कोरोना परीक्षणका लागि नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा शुक्रबारको रिपोर्टमा पोजेटिभ देखिएको थियो ।

उनको उपचारमा संलग्न चिकित्सकको स्वाब संकलन गरिएको छ भने रिपोर्ट नआउँदासम्म क्वारेन्टिनमा बस्न भनिएको छ ।उनलाई मुटुको समस्याका कारण हेटौंडा अस्पतालमा उपचारपछि टिचिङ अस्पताल रिफर गरिएको थियो । महिलामा कोरोना भाइरस पुष्टि भएको, काठमाडौं र हेटौंडामा उनीसँग सम्पर्कमा रहेकाको खोजी भइरहेको हेटौंडा अस्पताल प्रमुख डा. प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।

स्वाशप्रस्वासमा समस्या आएका कारण उनलाई काठमाडौं रिफर गरिएको थियो । महिलाको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको जानकारी दिइएको छ ।
लकडाउनको समयमा हेटौंडा घर ओहोरदोहोर गरेको र कोकोसँग भेट भएको भन्ने विषयमा खोजी भइरहेको छ । ती महिलासँग नियमित सम्पर्कमा रहेका डाक्टर, ल्याब प्राविधिक, एक्सरे प्राविधिक, नर्ससहित कर्मचारीलाई आइसोलेसनमा राखिने बताइएको छ ।