‘दशैंअघि निर्माण कार्य असम्भव’

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

लकडाउनका कारण उद्योग व्यबसायसँगै विकासका ठूला आयोजनाका काम सुचारु गर्ने निर्णय गरेर सरकारले निर्माण व्यबसायीलाई काममा फर्कन भने पनि विभिन्न कारण तत्काल काम सुरु गर्ने वातावरण नरहेको व्यबसायीले जनाएका छन् ।

लकडाउनको समयमा पनि विकास निर्माणको कामलाई सुरक्षितढंगले अघि बढाउनेबारे सरकारले गरेको निर्णय कार्यान्वयन गराउन समस्या भएको निर्माण व्यबसायीले गुनासो गरेका हुन् । मजदुरको समस्या तथा निर्माण सामग्रीको सहज आपूर्ति नहुँदा विकास निर्माणको काम गर्न असहज बनेको भन्दै निर्माण व्यबसायीले ठेक्काको समयावधि थप गर्नुपर्ने आवाज उठाएका छन् ।

कामलाई निरन्तरता र सहजरुपमा काम गर्न चुनौती रहेको निर्माण व्यबसायी संघ मकवानपुर अध्यक्ष श्यामसुन्दर ढकालले बताउनुभएको छ । प्रेस विज्ञप्ति जारी गर्दै लकडाउन र वर्षाका कारण निर्माण काम ठप्प हँुदा रोजगारी गुम्नेदेखि राज्य र व्यबसायीलाई अर्बौंको क्षति हुने अबस्था रहने अध्यक्ष ढकालले बताउनुभएको छ ।

लकडाउनले गर्दा मजदुर, प्राविधिकलगायत जनशक्ति घर गएकोले अब दशैंतिहारअघि आउन नसक्ने, निर्माण सामग्री सप्लायर्स बन्द हुने, ढुंगा, बालुवा, गिट्टी र सिमेन्टबाहेक अन्य सामग्री नपाइनुले कार्तिक मसान्तसम्म निर्माण कार्य अगाडि बढाउन सक्ने अबस्था नरहेको अध्यक्ष ढकालले विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ ।

चैतदेखि आगामी कार्तिकसम्म कार्य हुन नसकेको अवधिलाई सम्पूर्ण विकास निर्माणका कामको म्याद थप हुने व्यबस्था गर्न संघले नेपाल सरकारलगायत सरोकारवाला निकायलाई अनुरोध गरेको छ । संघले २०७६ चैतदेखि २०७७ कार्तिकसम्मको कार्य हुन नसकेको अवधिलाई आधार मानी स्वतः ठेक्का अवधि थप गर्न माग गरेको छ ।

‘यस अवधिमा काम हुन नसक्ने र भए पनि लागत अत्याधिक बढी पर्न गएर तोकिएको लागतमा काम हुन नसकेमा लागत थप समावेश गर्ने तथा काम हुन नसकेको अवधिमा ओभरहेड स्वतः समावेश गरिदिने व्यबस्थाका लागि सरकारसँग संघ अनुरोध गर्दछ,’ अध्यक्ष ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।