कोेरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनबारे नमुना अभ्यास

0
Shares

शिक्षा पन्त,लमजुङ ।

लमजुङ सदरमुकाम बेसीशहर स्थित जिल्ला सामुदायिक अस्पतालमा कोरोना भाइरस संक्रमणबाट विरामीको मृत्यु भएमा शव व्यवस्थापन सम्बन्धी डेमोस्ट्रेशन (नमुना अभ्यास) गरिएको छ । अभ्यासमा अस्पतालको आइसोलेशन वार्डमा कोरोना लागेका व्यक्तिको मृत्यु भएपछि स्वास्थ्य र सुरक्षामा खटिने दुवै पक्षले व्यक्तिगत सुरक्षालाई उच्च सतकर्ता अपनाई मृत शरीरको व्यवस्थापन गरिएको कुरा देखाइएको थियो ।

नेपाली सेनाको उदीपुरस्थित श्रीजंग गणको संयोजनमा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय लगायत सुरक्षा टिम, अस्पतालको सहयोगमा उक्त अभ्यास गरिएको हो । श्री जंग गणका डेड बडी म्यानेजमेन्ट टिमले शव व्यवस्थापनको अभ्यास गरेका हुन् । अन्तराष्ट्रिय मापदण्ड अनुसार अस्पतालमा कोभिडबाट मृत्यु भएका शव व्यवस्थापन कसरी गर्ने भन्ने अभ्यास गराइएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित कमाण्ड पोष्टका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनुभयो ।

कोरोना भाइरसको जोखिम जतासुकै रहेको र कोरोना बाट विरामीको मृत्यु भइहालेमा शव व्यवस्थापन गर्नुपर्ने भएकाले उक्त अभ्यास गराइएको र यसबाट आगामि दिनमा काम गर्न सहज हुने उहाँले बताउनुभयो । कोरोना संक्रमणका कारण कसैको मृत्यु भएमा नेपाली सेनालगायत जिल्लाको सुरक्षा निकाय र स्वास्थ्यकर्मीको आपसी समन्वय र सहकार्य गर्न आवश्यक रहेको कुरा अभ्यासमा देखाइएको थियो ।

जोखिम न्युनिकरणका लागि नेपाल सरकारबाट प्राप्त शव व्यवस्थापन सम्बन्धी कार्य्विधि र मापदण्डलाई आधार मानी अभ्यास गरिएको श्रीजंग गणका प्रमुख सेनानी जयराम थापाले बताउनुभयो । श्रीजंग गणले मृत शरीर व्यवस्थापन तथा सुरक्षित स्थानमा शव हस्तान्तरण गर्ने सम्बन्धमा काल्पनिक घटनाक्रम बनाई नाट्य शैलीमा डेमोस्ट्रेशन तयार पारी प्रस्तुत गरेको बताउनुभयो ।

लमजुङमा कोभिडबाट हुने सक्ने सम्भावित जोखिमको तयारीका लागि सेनाद्धारा शव व्यवस्थापनको अभ्यास गरिएको थापाको भनाई छ । अस्पतालमा गरिएको शव व्यवस्थापन सम्बन्धी अभ्यासले जिल्लाका सुरक्षा निकाय र स्वास्थ्यकर्मीलाई अबको दिनमा सहज बनाउने लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।