कोभिड–१९ का लक्षण देखियो भने के गर्ने?


काठमाडौँ ।

अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड–१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्।

उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन्।

कोरोनाभाइरस के हो, त्यसबाट कसरी सङ्क्रमण हुन्छ, कसलाई सङ्क्रमणको बढी जोखिम छ, कोभिड–१९ लागेपछि मृत्युको सम्भावना कति छ तथा उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ।

कोरोनाभाइरस के हो?

आनुवंशिक संरचनामा आरएनए भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस नामकरण गरेका थिए।

भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो। त्यसलाई नेपालीमा ‘किरीटाकार विषाणु’ वा ‘किरीट विषाणु’ पनि भन्न सकिन्छ। तर कोरोनाभाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो।

सन् २०१९ को डिसेम्बरमा चीनमा मानिसमा सङ्क्रमण गर्न थालेको भाइरस सो समूहमा राख्न मिल्ने नयाँ भाइरस भएको पत्ता लाग्यो।

चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो।

उक्त भाइरसको वैज्ञानिक नाम सार्स(Sars-CoV-2) हो। सङ्क्रमणबाट हुने रोगलाई कोभिड–१९(Covid-19) भनिन्छ।

कोरोनाभाइरस सङ्क्रमण कसरी हुन्छ?
कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ। सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ।

सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन्। उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ।
सङ्क्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ।

भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। बिस्तारै ती अङ्गलाई कोरोनाभाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्‍याउन सक्छन्।

कोरोनाभाइरस सङ्क्रमण भएको कसरी थाहा पाउने?
ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोनाभाइरस सङ्क्रमण भएपछि लाग्ने रोग कोभिड–१९ का मुख्य लक्षण हुन्।

केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ। केही बिरामीमा घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता पनि शिथिल भएको पाइएको छ।

केही मानिसहरूलाई सङ्क्रमण भए पनि कुनै गम्भीर लक्षण देखिँदैन। तर उनीहरूले थाहै नपाई अरूलाई भाइरस सारिदिन सक्छन्।

कोभिड–१९ का लक्षण देखियो भने के गर्ने?
यी लक्षण देखियो भने घरमै अरूबाट अलग्ग बस्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ।

झन्डै ८० प्रतिशत मानिसमा सामान्य खालको सङ्क्रमण हुन्छ। तर ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ। किनभने ती लक्षणले श्वासप्रश्वास प्रणालीमा भएको सङ्क्रमण वा अन्य गम्भीर समस्यातिर सङ्केत गर्छन्।

खोप कहिलेसम्म बन्ला त ?
वैज्ञानिकहरूले खोप विकास गरिसकेका छन् र त्यसलाई जनावरमाथि परीक्षण गरिरहेको छन्। जनावरमाथिको परीक्षण सफल भयो भने यो वर्षको अन्त्यसम्ममा मानिसमाथि पनि परीक्षण हुनसक्छ।

यो वर्षको अन्त्य अगाडिनै पनि वैज्ञानिकहरूले खोप पत्ता लगाएको दाबी गरेपनि त्यसलाई ठूलो सङ्ख्यामा बनाउन समय लाग्नेछ।

यसको अर्थ सबैभन्दा छिटो खोप उपलब्ध हुने समय भनेको सन् २०२१ को बीचतिर मात्रै हो। तर खोप विकासको सबै कुरा सहज नहुन सक्छ जसले यसलाई ढिलो बनाउन सक्छ।

मानिसमा अहिले चार प्रकारको कोरोनाभाइरस सङ्क्रमण छ। सबैले रुघाखोकी लगाउँछ र हामीसँग कुनैको पनि खोप छैन।

खोप बनेपनि यो वृद्ध मानिसहरूमा कम सफल हुनेछ। यस्तो खोपका कारणले नभई वृद्ध मानिसहरूको रोग प्रतिरोधी क्षमता कम हुने कारणले हो।

सिटामोलसहित सबै औ‍षधिहरूको साइड इफेक्ट हुन्छ। तर खोपको परीक्षण राम्ररी नगरी यसको साइड इफेक्टहरूबारे थाहा हुन सक्दैन।

खोप नबनेसम्म के उपचार छ त?
खोपले सङ्क्रमणबाट जोगाउँछ र खोप लिने सही समय सङ्क्रमण अगाडि स्वस्थ अवस्थामा नै हो।

नयाँ कोरोनाभाइरसको सङ्क्रमण भएको छ भने धेरै मानिसहरूमा यसको असर सामान्य हुन्छ। केही एन्टीभाइरल औषधिहरू परीक्षण भइरहेका छन् तर त्यो कहिले तयार हुन्छ भन्ने अहिल्यै भन्न सकिन्न।

खोप कसरी बन्छ?
खोपले थोरै सङ्ख्यामा भाइरसलाई हाम्रो शरीरमा पठाउँछ जसले हाम्रो शरीरले त्योसँग लड्न सिक्छ। र त्यसपछि कुनै बेला त्यो भाइरस हाम्रो शरीरमा आयो भने शरीरलाई त्योसँग कसरी जुध्ने भन्ने थाहा हुन्छ।

खोपमा कमजोर बनाइएका भाइरसहरू प्रयोग गरिन्छ जसले शरीरमा पुरै सङ्क्रमण गर्न सक्दैनन्। तर नयाँ कोरोनाभाइरसको लागि खोप बनाउन वैज्ञानिकहरूले फरक विधि प्रयोग गरिरहेका छन्।

केही वैज्ञानिकहरूले कोरोनाभाइरसको कोडलाई अर्कै हानिरहित भाइरसमा हालेर परीक्षण गरिरहेका छन्। यदि यो विधि सफल भयो भने शरीरमा हानिरहित भाइरस पठाएर कोरोनाभाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न सकिन्छ।

अन्य वैज्ञानिकहरूले भने यसको डीएनएलाई प्रयोग गरेर शरीरमा भाइरल प्रोटिन बनाउने र शरीरको प्रतिरोधी क्षमता विस्तार गर्ने विधिमा खोप विकास गर्न खोजिरहेका छन्।

बिबिसी