अर्थ व्यवस्थालाई धराशयी हुनबाट रोक्न राणाको आग्रह


नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले अर्थ व्यवस्था धराशयी हुने टड्कारो सम्भावनाबीच अर्थतन्त्रको ढाँचा पुुनःसंरचना बजेटको मूल हाँक हुने बताएका छन् ।

‘कोभिड–१९ ले ल्याएको संकटका कारण अर्थ व्यवस्थाको वर्तमान संरचना धराशयी हुने टड्कारो सम्भावना छ । घट्दो राजस्वबाट विकास खर्च त के, साधारण खर्च पनि धान्न मुस्किल पर्न सक्छ’, अध्यक्ष राणाले सोमबार भन्नभयो– ‘यी जोखिमको सामना गरी नेपाली अर्थतन्त्रको ढाँचा कसरी पुुनःसंरचना गर्ने भन्ने नै यो वर्षको बजेटको मूल हाँक हुनेछ ।’

राणाले भन्नुभयो– ‘घट्दो राजस्वबाट साधारण र विकास खर्च धान्न कठिन देखिन्छ । परिस्थिति असामान्य छ । सरकार गम्भीर छ कि छैन ? हाम्रो चिन्ता यही नै छ ।’

उहाँले ट्विट गर्दै भन्नुभयो– ‘विप्रेषण र पर्यटनबाट हुने आम्दानीमा ठूलो गिरावट आउने पक्का छ । आयातको लागत बेहोर्ने स्रोत सुकेर सोधनान्तर स्थितिमा घाटाको ठूलो जोखिम आइलाग्ने अवस्था छ । यही कारणले आयात घटे राजस्वमा पनि गिरावट आउने खतरा छ ।’

नेपाली अर्थतन्त्र अर्थात् राजस्वको मूल तीन आधार, विप्रेषण, पर्यटन र वैदेशिक ऋण सहयोग, सीमित रहने दृष्टान्त प्रस्तुत गर्दै राप्रपा अध्यक्ष राणाले सरकारले गम्भीर भएर निकास दिनुपर्नेमा जोड दिनुभयो ।

‘विप्रेषण र पर्यटन क्षेत्रको आम्दानी र वैदेशिक ऋण, सहयोगबाट आयात धान्ने संरचना हो नेपालको । यी तीन स्रोतको आम्दानीमा आधारित आयातबाट उठ्ने भन्सार महसुल र भ्याट नै राजस्वको मूल स्रोत हो ।’ –राणाले प्रस्ट पार्नुभयो ।