पेमीसँग मिलेर श्रीमानको हत्या

0
Shares

सरोज यादव,विराटनगर

विराटनगरका औषधि ब्यवसायी देवीप्रसाद दुलालको उनकै श्रीमतीको योजनामा हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले उक्त घटनामा मृतक दुलालकी श्रीमतीसहित घटनामा संलग्न थप दुईजनालाई नियन्त्रणमा लिएपछि सो खुलासा भएको हो । प्रहरीले घटनामा लहान नगरपालिका १० का २१ बर्षिय ब्रम्हदेव साह, इटहरी उपमहानगरपालिका १२ का २० वर्षीय सोनु साह र मृतककी श्रीमती विराटनगर–१० बस्ने मीना श्रेष्ठ दुलाललाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयले सोमबार स्काइपमार्फत आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मृतककी श्रीमती मिना श्रेष्ठ दुलालको योजनामा नजिकको समबन्ध भएका प्रमी ब्रम्हदेव साह र सोनु साहको सहयोगले दुलालको हत्या गरिएको बताउनुभयो ।

श्रीमान–श्रीमतीबीच राम्रो सम्बन्ध नरहेको तथा श्रीमानसँग बदला लिने उद्देश्यसहित हत्या भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले जानकारी दिनुभयो ।

घटना विवरण अनुसार जेठ ३ गते साढे १० बजे राती श्रीमती मीनाको योजना अनुसार बिराटनगर–१० स्थित मधुमाराचोक पुगेका बम्हदेव र सोनुसहितले प्लास्टिकको डोरीले दुलालको घाँटीमा बेरेर तथा कुटपीट गरेर हत्या गरेको बताइएको छ । योजनाअनुसार हत्यापछि मात्र उनलाई उपचारका लागि अस्पतालतर्फ लगिएको अनुसन्धानमा खुलेको छ ।

इटहरी–१२ घर भएका मृतक दुलालले विराटनगरमा देवी पाथिभरा फार्मेसीका नामले औषधि पसल चलाउँदै आएका थिए । १० वर्षअघि प्रेम विवाह गरेका दुलालका ८ वर्षीय छोरा छन् ।