कतारी जेलमा रहेका ८ नेपालीलाई आममाफी

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

विभिन्न अभियोगमा कतारको जेलमा रहेका ८ नेपालीले आममाफी पाएका छन् । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा कतारका अमिर शेख तमिम बिन हमाल अल थानीले आममाफी दिने घोषणा सार्वजनिक गरेका थिए । सोही आममाफीअन्र्तगत् कतारको बन्दीगृहमा रहेका ८ नेपाली नागरिक पनि रिहा हुन लागेको कतारस्थित नेपाली राजदुतावासले जानकारी दिएको त्यहाँबाट पत्रकार अनिल पराजुलीले जनाएका हुन् ।

रिहा हुनेमा ४ जना कुटपिट, २ जना चोरी र २ जना सवारीजन्य कसुरमा सजाय भुक्तान गरिरहेका थिए । यसअघि विश्व महामारीको अबस्थालाई मध्यनजर गर्दै तथा कैदीको स्वास्थ्य र मानवीय अबस्थालाई ध्यानमा राखेर १७ नेपालीले आममाफी पाएका थिए । आममाफी पाउनेमध्ये १३ जना लागुऔषध कारोबार, २ जना चोरी, १ जना मादकपदार्थ कारोबार र १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका थिए ।

कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि कतार सरकारले तोकेको स्वास्थ्य केन्द्रमा जान नेपाली राजदूुावास दोहा कतारले आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दै दुतावासले कोभिड–१९ परीक्षणका लागि मुआइथर स्वास्थ्य केन्द्र, रावदत अल खालिल स्वास्थ्य केन्द्र, अम सलाल स्वास्थ्य केन्द्र र अल घराफा स्वास्थ्य केन्द्रमा जान नेपालीलाई आग्रह गरेको हो ।

कोभिड १९ संक्रमणको लक्षण देखिएका हटलाइन १६००० मा सम्पर्क गर्न आग्रह गरेको छ ।कतारमा सोमबार १ हजार ३ सय ६५ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय २५ जनाको जाँच गर्दा १ हजार ३ सय ६५ नयाँ संक्रमित फेला परेका हुन् ।

यससँगै कतारमा संक्रमितको संख्या ३३ हजार ९ सय ६९ पुगेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिँदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४ हजार ८ सय ९९ जना निको भएर घर फर्किएका छन् ।

कतार सरकारले कुन देशका संक्रमित नागरिक कति छन् भन्ने तथ्यांक सार्वजनिक गरेको छैन । हाल कतारमा करिब ३ लाख ५१ हजार नेपाली कार्यरत् छन् ।