मुस्ताङ्गको कोरला नाकामा सशस्त्र खटाउने तयारी

0
Shares

दुर्गाप्रसाद शर्मा,पर्वत ।

हिमालपारीको जिल्ला जिल्ला मुस्ताङ्ग र उत्तरी छिमेकी चीनको सिमानामा पर्ने कोरला नाकामा शसस्त्र प्रहरी खटाउने तयारी भएको छ । नेपाल–चीन सीमादेखि १२ किलोमिटर तल लोमन्थाङ गाउँपालिका–१, छोसेरको नचुङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट(बीओपी) राख्ने निर्णय भएको हो ।

मुस्ताङ्गको सदरमुकाम जोमसोमस्थित ३३ नम्बर गुल्मबाट २० जना शसस्त्र प्रहरी खटाइने टुङ्गो भएको मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिनुभयो । नेचुङमा रहेको भन्सार तथा क्वारेन्टाइन कार्यालयको भवनमा दुई कोठा छोडेर बाँकी कोठामा सशस्त्र प्रहरी राखिनेछ ।

उक्त स्थानमा नेपाल प्रहरीको चौकी यसअघि नै रहेको छ । मुस्ताङको चीनसँग कोरला नाका समेत १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अन्तराष्ट्रिय सीमा जोडिएको छ । ‘नाकामा खटाउनका लागि शसस्त्र प्रहरीको टोली तयारी अबस्थामा छ’ उहाँले भन्नुभयो ‘माथिको आदेश आउने बित्तिकै परिचालन गर्छौ’ । सिमानमा सवै पूर्वाधार नबन्दासम्म अस्थायी रुपमा नेचुङमा रहने उहाँले जानकारी दिनुभयो ।

यसअघि ०६६ फागुनमा छिमेकी चीनले उपल्लो मुस्ताङमा चीनविरोधी गतिविधि बढेको गुनासो गरेपछि सरकारले चण्डिका सशस्त्र प्रहरी गण पर्वतबाट प्रहरी नायब उपरीक्षक नारायण श्रेष्ठको नेतृत्वमा ४६ जनाको टोली सीमावर्ती नेचुङमा सीमा सुरक्षा पोस्ट खडा गर्न खटाइएको थियो ।

तर पर्वतबाट माघ दोस्रो साता नेचुङमा सीमा सुरक्षार्थ हिँडेको टोली बाक्लो हिमपातले हिँड्न नसकेको कारण देखाइ सदरमुकाम जोमसोमस्थित कभर्ड हलमा बसेको थियो । शसस्त्र प्रहरी जोमसोममै बस्दै आएको छ ।