भारतीय सिमामा रोकिएका तनहुँका २० जनाको उद्धार

0
Shares

मिला दरै,तनहुँ ।

भारतीय सिमा क्षेत्रमा रोकिएका तनहुँका २० जना नागरिकलाई उद्धार गरिएको छ । बन्दाबन्दीले गर्दा भारतका विभिन्न राज्यबाट भैरहवा र कैलालीमा आई रोकिएका उनीहरुलाई उद्धार गरिएको हो ।

आइतबार भैरहवाबाट १२ र सोमबार कैलालीबाट ८ जना गरी उक्त संख्याका नागरिकलाई उद्धार गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । भानु नगरपालिकाका ४, व्यास नगरपालिकाका ५, ऋषिङ गाउँपालिकाका २ र १ जना घिरिङ गाउँपालिकाका गरी आइतबार १२ जनालाई जिल्लामा ल्याइएको हो ।

सोमबार व्यास नगरपालिका, ऋषिङ र घिरिङ गाउँपालिकाका गरी आठ जना ल्याइएको प्रजिअ अधिकारीले बताउनुभयो । उद्धार गरी ल्याइएका नागरिकहरुको जिल्ला प्रवेश गर्ने नाकामा स्वास्थ्य परीक्षण गरी सम्बन्धित स्थानीय तहलाई जिम्मामा लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार भारत तथा मुलुककै अन्य जिल्लाबाट आएका नागरिकहरुलाई सम्बन्धित स्थानीय तहले तयार गरेको क्वारेन्टाइनमा अनिवार्य १५ दिन बस्नुपर्ने व्यवस्था गरिएको छ ।