ससुराल बन्याे क्वारेन्टाईन, १२ जनाको रिर्पोट नेगेटिभ, जेठीसासुकाे ‘पाेजेटिभ’


न्युज अफ नेपाल, रौतहट ।

रौतहटमा एकै घरका १३ जनालाई क्वारेन्टाईनमा राखेकोमा एक जना महिलामा मात्रै कोरोना भाईरसको संक्रमण देखिएको छ । भारतबाट मजदुरी गरेर घर फर्केका एक ब्यक्ति रौतहटको माधबनारायाण नगरपालिका–२ मा रहेको ससुराली घरमा आएपछि उनी सहित परिबारका १३ जनालाई गत बैशाख २६ गते क्वारेन्टाईनमा राखिएको थियो ।

सर्लाहीको बलरा नगरपालिका–७ हथिऔल निबासी ती पुरुष रौतहट आएपछि क्वारेन्टाईनमा राख्दा उनको रिर्पोट नेगेटिभ आएको छ तर उनको जेठिसासुलाई भने कोरोना भाईरसको संक्रमण देखिएको हो । कोरोना भाईरसको संक्रमण देखिएको ती महिलाको १ बर्षको काखे छोरी र अर्को १० बर्षको छोरी समेत रहेकी छिन तर दुबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य संयोजक प्रमोद कुमार साहले बताउनु भयो ।

उहाँका अनुसार मजदुरी गरेर भारत बाट आएका ती युबकको श्रीमती र २ महिनाको बच्चाको समेत रिर्पोट नेगेटिभ आएको छ । एकै परिबारका १३ जना मध्ये कसैसंग सम्बन्ध नभएको ती महिलाको रिर्पोट पोजेटिभ आएपछि आफु आश्चर्यमा परेको माधब नारायण नगरपालिकाका प्रमुख बिरेन्द्र यादबले बताउनु भयो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालले रौतहटको ८ सहित नौ जना नेपालमा कोरोना भाईरसको संक्रमण देखिएको रिपोर्ट सार्बजनिक गरेको थियो । यस्तै ईशनाथ नगरपालिको क्वारेन्टाईनमा रहेका ७ जनाको रिर्पोट पोजेटिभ आएको छ ।

उनीहरु भारतको डिल्ली, मुम्बई, कानपुर र हरियाणा बाट मजदुरी गरेर गएको बैशाख ३०, र ३१ गते रौतहट आईपुगेको स्वास्थ्य संयोजक ईजरालु खानले बताउनु भयो । रौतहट आएपछि उनीहरुलाई सिधै क्वारेन्टाईनमा लगेर राखिएको प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले बताउनु भयो ।

गत जेष्ठ २ गते उनीहरुको स्वाब निकालेर परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइएकोमा रिर्पोट पोजेटिभ आएको हो । घरपरिबार र समुदायमा उनीहरुको घुलमिल नभएका कारण समुदाय भयरहित रहेको छ ।