कोरोना कहरमा नागार्जुनलाई युवाको साथ

28
Shares

यदुप्रसाद भट्ट, काठमाडौं।

लकडाउनका बेला अप्ठेरोमा परेका २६ हजारलाई राहत वितरण गरेको नागार्जुन नगरपालिकाले यति बेला टोलटोलमा माइकिङ गर्दै घरभित्रै बस्न अनुरोध गरेको छ ।

विश्व नै कोरोनाको महामारीले आक्रान्त पारेको अवस्थामा सुरक्षित रहन अनुरोध गर्दै नगरपालिकाले आफ्नो नगरपालिकाभित्र नयाँ मान्छेलाई प्रवेश निषेध पनि गरेको छ । नगरका विभिन्न सत्र स्थानमा निःशुल्क भोजनको व्यवस्था गरेको नगरपालिका यति बेला कोरोनाविरुद्ध सचेतना फैलाउने काममा लागिपरेको छ ।

१० हजारलाई निःशुल्क खाना

लकडाउनका बेला दैनिक रुपमा सत्र स्थानबाट निःशुल्क खानाको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख मोहनबहादुर बस्नेतले वडा नं. ४ मा सञ्चालमा रहेको सामूहिक मेस अनुगमन गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।

त्यसै गरी उपमेयर सुशीला अधिकारीले अनुगमनका क्रममा कोही नछुटून, कोही नदोहोरियून, कोही पनि भोकै बस्न नपरोस्, समानुपातिक होस् भनेर राहत वितरणमा सतर्कता अपनाइएको बताउनुभयो । उहाँले प्रत्येक वडामा सकेसम्म १० लाखभन्दा धेरै नबढ्ने गरी राहत वितरण गरेको बताउनुभयो ।

नागार्जुन नगरपालिका–४ का युवाको समूहले दैनिक ५ सयलाई खाना खुवाउँदै आएको थियो । कोरोनाको महामारीलाई ध्यानमा राखेर सो समूहले २५औं दिनसम्ममा १० हजारलाई निःशुल्क खाना वितरण गरेको जनाएको छ । नगरपालिकाभित्रका सबै निःशुल्क खाना वितरण स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

लकडाउनको समयमा नागार्जुनभित्रका दैनिक मजदुरी गर्ने मजदुर, डेरामा बस्ने विद्यार्थी तथा निम्न आय भएकाहरुलाई आफूहरुले स्वस्फूर्तरुपमा खाना खुवाउने गरेको सो समूहका संयोजक क्षिजिज सापकोटाले बताउनुभयो ।

आफू मात्र होइन सकेसम्म कोही पनि भोको नरहून् भनी नगरपालिकाले सारेको राहत खाद्यान्न सामग्री वितरणलाई ध्यानमा राखी निःशुल्क खाना खुवाएको उहाँको भनाइ थियो ।

सो युवा समूहलाई परिवर्तनका लागि नागरिक जालो, श्री महेश धर्म भूतपूर्व विद्यार्थी समाज र सरुवा रोगविरुद्ध जनजागरण अभियानले सहयोग गरेको छ । सामूहिक मेसका लागि समाजसेवी, व्यापारी, उद्योगी आदिले खाद्यान्न तथा नगद सहयोग गरेका थिए ।

वडावडामा मेयर

नगरपालिकाले आफ्नो वडाका प्रत्येक नागरिक कोही भोकै नपरून्, कोही नदोहोरियून् भनी राहत वितरण गरेको थियो । प्रदेश सरकारबाट पाएको १२ लाख रुपियाँले नगरभित्र लकडाउनमा परी चुलो नबल्ने परिवारलाई राहत वितरण गरेको नगरपालिकाले जनाएको छ ।

अतिविपन्न तथा मजदुरी गरी छाक टार्नेहरुलाई मध्यनजर गरी राहत वितरण गरिएको मेयर मोहनबहादुर बस्नेतले बताउनुभएको छ । उहाँले खाद्यान्न वितरणबाहेक अन्य स्वास्थ्य सामग्री पनि वितरण गरेको जानकारी दिनुभयो । प्रत्येक वडामा दैनिक आफूले अनुगमन गरेको उहाँको भनाइ थियो ।लकडाउनको पालना भए नभएको, नगरपालिकाद्वारा खटाइएका स्वयम्सेवकले काम गरेनगरेको अनुगमनामा मेयर आफैं खट्नुभउको स्थानीयले बताएका छन् ।

स्थानीय युवा राजु सिलवालले मेयर उपमेयर आएर आफूले सञ्चालन गरेको सामूहिक निःशुल्क भोजनको अनुगमन गरेको बताउनुभयो । उहाँले कति दिन त मेयर तथा उपमेयरले खाना वितरण पनि गरेको बताउनुभयो ।

नाकामा सुरक्षा पोस्ट

नागार्जुन प्रवेश गर्ने मुख्य नाका भीमढुंगामा नगरपालिकाले प्रहरीको सुरक्षा पोस्ट स्थापना गरेको छ । धादिङबाट रातारात अन्य जिल्लाबाट काठमाडौं प्रवेश गर्नेको लर्को नै लाग्न थालेपछि प्रहरीको सुरक्षा पोस्ट स्थापना गर्नुपरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको सहयोगमा प्रहरी तैनाथ नाका सिल गरिएको मेयर बस्नेतले बताउनुभएको छ ।

आइसोलेसन तथा क्वारेनटाइन

नगरपालिकाले कोरोनाको संक्रमणलाई ध्यानमा राखेर वडा नं. १ मा ३० बेडको सुविधासम्पन्न एटेच बाथरुमसहितको क्वारेन्टाइनको व्यवस्था गरेको छ । त्यसै गरी अक्सिजन र भ्याकुमसहितको ९ बेडको आइसोलेसन पनि व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।

कोरोनाको निःशुल्क उपचार तथा परीक्षण

नगरपालिकाले आफ्नो नगरभित्रका जोकसैलाई पनि कोरोना भाइरस लाग्यो भने निःशुल्क उपचार गर्ने जनाएको छ । हालसम्म १ सय ४ जनाको आरडीटी र पीसीआर परीक्षण गरेको नगरपालिकाले जनाएको छ । टोलटोलमा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने काम गरेको नगरपालिकाले थर्मल गनबाट तापक्रम लिएको थियो ।

५३ लाखको बीमा

परिवर्तनका लागि नागरिक जालो, श्री महेश धर्म भूतपूर्व विद्यार्थी समाज र सरुवा रोगविरुद्ध जनजागरण अभियानले शुरु गरेको निःशुल्क सहयोग सामूहिक ५३ जनाको बीमा गरी भोजन २५औं दिनमा स्थगित भएको छ ।

युवाहरुको सो समूहले मेसमा काम गर्ने स्वयम्सेवीहरुको लागि ५३ लाख बराबरको बीमा गरिदिएको हो । संक्रमणका बेला जोखिम मोलेर काम गरेका सबैको बीमा गरेको सो समूहका निराजन भट्टराईले जानकारी दिनुभयो ।

भत्ताको व्यवस्था

नगरपालिकाले नगरभित्र रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र सुत्केरीलाई आन्तरिक स्रोतबाट दिने गरी ६ महिनाका लागि प्रतिव्यक्ति ५ हजारको दरले भत्ताको व्यवस्था गरेको जनाएको छ । त्यसै गरी नगरपालिकाले आफ्नो नगरभित्रको खानेपानीको महसुल दुई महिनाका लागि मिनाहा गरेको छ ।