‘होल्ड’ गर्ने ठाउँको अभाव, टोलटोलमा तनाव

0
Shares

सुनील महर्जन,ललितपुर ।

लगनखेलस्थित वटुक भैरव मन्दिर हुँदै ११ जना मानिसहरु पाँच दिन अघि राति कनिबहाल नजिकको टोलमा आएका थिए । आ–आफ्नो घरबाट ती मानिसहरु कोठामा फर्किएका हुन् ।कोठाभित्र पस्न खोज्दा स्थानीयहरुले ती मानिसहरु कोरोना संक्रमित हुन सक्ने भन्दै घर फर्काउनुपर्ने अडि कस्न थाले ।

टोलमा होहल्ला मच्चियो । मानवीय हिसाबले राति घर फर्काउन पनि नमिल्ने कुरा प्रहरीले राखे । कुराकानी लम्बिदै गएपछि कोठाभित्रको फल्याटमा नै क्वारेन्टाईन झै ती मानिसहरुलाई राख्ने सहमति भयो ।ललितपुर– १९ स्थित पूर्णचण्डीस्थित आफ्नो डेरामा बसेका छोरा र आमालाई भेट्न लुना तामाङ शनिबार राति आएका थिए ।

एक महिनापछि आएका तामाङलाई जहाँबाट आएको उतै फर्किनुपर्ने भनेर स्थानीयले उनलाई घरभित्र पस्न दिएन । विवाद चर्किदै गयो । अन्ततः वडाका प्रतिनिधि र प्रहरीहरु राखेर राति १२ बजे उनलाई एम्बुलेन्समा राखेर घर पु¥याईदिने सहमति भयो ।
ललितपुर – ९ च्यासलमा चार दिनअघि राति आफ्नो डेरामा आएका दुई जना व्यक्तिका कारण टोलमा कोकोहोलो मच्चिएको थियो ।

लकडाउन परर्वाह नगरी उपत्यका बाहिरबाट मानिसहरु धमाधम काठमाडौं फर्किएपछि विभिन्न स्थानमा यस्तै दृश्य देखिएको छ । यी केही प्रतिनिधिमूलक घटनाहरु मात्र हुन् । अहिले यस किसिमका घटनाहरु दैनिक रुपमा दोहोरिने गरेको छ ।

ललितपुर महानगरपालिका–६ का वडाध्यक्ष हिटलर शाक्यले भन्नुभयो ‘ राति आएका मानिसहरुलाई जहाँबाट आएको हो उतै फर्काउन पनि मिलेन । कोठाभित्र राख्न पनि गा¥हो हुने । राति नै कोरोना संक्रमित भएको हो कि होइन भनेर न आर्डिटी वा पीसिआर परीक्षण गर्न सकिन्छ ।

वडा नं ६ मा यस्ता घटनाहरु हरेक दिन हुने गरेको छ । यस किसमको घटनाले बहालमा बस्ने र स्थानीयबीच तनाव बढाएको छ । तनावले उग्ररुप लिन नपाओस् भनेर वडाले प्रहरी, टोल सुधार समितिसंग मिलेर समस्याको समाधान निकालिरहेको वडाअध्यक्ष शाक्यले बताउनुभयो । ‘राति आएका मानिसहरुलाई राख्ने ठाउँ छैन । न भनेको बेला सहजै एम्बुलेन्स पाउन सकिन्छ । ’ वडाअध्यक्ष शाक्यले भन्नुभयो ।
यस किसिमको घटनामा राति अबेरसम्मै गरी ललितपुर वडा –१९ का वडाअध्यक्ष विनोद ताम्रकार तीन पटक परिसकेका छन् । पूर्णचण्डीमा नै दुई र इतिटोलमा एक पटक यस्तो समस्या सामना गर्नुपरेको बताउँदै वडाअध्यक्ष ताम्रकारले भन्नुभयो ‘राति मानिसहरु आउने क्रम रोकिएको छैन ।यसले गर्दा उत्पन्न समस्याको व्यवस्थापन गर्न सहज पनि छैन ।’

काठमाडौं,ललितपुर महानगरपालिका सबै वडाहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै काठमाडौं बाहिरबाट कोठा भाडामा बस्नेलाई रोक लगाएको छ । कोठा भाडामा लिई बस्नेलाई लकडाउनको समयमा बाहिरबाट आएमा कोठा प्रवेशमा रोक लगाइएको छ ।यस्तै कोठा भाडामा बस्नेहरु घर गएको भए उनीहरुलाई नर्फिकनका लागि फोन गरेर जानकारी गराउन घरधनीहरुलाई आग्रह गरिएको छ ।

घरधनीहरुले सूचना लुकाई भाडामा बस्नेहरुलाई प्रवेश दिएमा त्यस्ता घरहरुमा ताला लगाई सिल गरिने, क्वारेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले बेहोर्नुपर्ने र संक्रमित भएको प्रमाणित भएमा घरधनीले क्षतिपूर्ति तिुर्नपर्ने चेतावनी समेत दिएका छन् । तैपनि मानिसहरु राति आउने क्रम नरोकिएको वडाअध्यक्षहरु बताउँछन् ।

एक त रातमा मानिसहरु कोठामा फर्किन नहुने अर्कोतर्फ आउनेहरुलाई पनि राति नै फिर्ता पठाउन मानवीय दृष्टिले उचित नभएको महानगरीय प्रहरी प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक चन्चला श्रेष्ठले भन्नुभयो ‘ रातिसम्म वा एक दुई दिन सम्म राति मानिसहरुलाई राखेर ‘होल्ड’ गर्ने ठाउँ भएको भए त्यस्ता समस्या समाधान गर्न सहज हुनेछ । यस किसिमको ठाउँ बनाउन वडाहरुलाई भन्दै आएको पनि प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

ललितपुर महानगरपालिका – ११ मा नेपालगञ्ञ लगायत विभिन्न स्थानबाट पाँच जना मानिसहरु आएका थिए । ती मानिसहरुलाई क्वारेन्टाईनमा राख्न महानगरपालिकामा सम्पर्क गर्दा त्यस्ता मानिसहरुलाई राख्ने ठाउँ नभएको जवाफ फर्काएको स्थानीय पृथविन्दु महर्जनले बताउनुभयो ।

महानगरपालिकाले एन्फा परिसरमा बनाएको क्वारेन्टाईन बनाएको छ । त्यस ठाउँमा पाटन अस्पतालबाट रिर्फर गरिएका संक्रमितहरुलाई मात्र राख्दै आएको महानगरपालिकाका उपप्रमुख गीता सत्यालले जानकारी दिनुभयो । ज्यापू समाज वृद्धाश्रममा क्वारेन्टाईन खोल्ने निर्णय स्थानीय ब्रम्हायणी टोल सुधार समिति र स्थानीयको विरोधका कारण सञ्चालन हुन सकेको छैन ।