लकडाउनको मारमा डाइलासिस गर्नुपर्ने बिरामी

0
Shares

मिला दरै,तनहुँ ।

कोभिड १९ को संक्रमण फैलन नदिन गरिएको बन्दाबन्दी (लकडाउन)ले डाइलाइसिस गर्नुपर्ने बिरामी मर्कामा परेका छन् । डाइलाइसिसका बिरामीलाई न्यूनतम हप्ताको दुई पटक डाइलाइसिस गर्नुपर्ने हुन्छ । तर लकडाउनले डाइलाइसिसका बिरामीलाई आवातजावातमा नै समस्या भएको बिरामीका आफन्तहरुले बताउने गरेका छन् ।

तनहुँको दमौली अस्पतालको भवनमा सञ्चालित शत्रुघ्न मञ्जु डाइलाइसिस युनिटमा जिल्लाका साथै छिमेकी जिल्लाबाट समेत डाइलाइसिसका लागि आउने गर्छन् । देश नै लकडाउनमा रहेको अवस्थामा भने उनीहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको स्वास्थ्यकर्मीको भनाई छ । लकडाउन भएपछि अत्यावश्यक बाहेक अन्य सवारीसाधन सञ्चालनमा निषेध हुँदा डाइलिसिस गराउन आउन समस्या भएको हो ।

गोरखाका सुकबहादुर गुरुङ हप्ताको दुई पटक दमौली आउन बाध्य हुनुहुन्छ । तर गुरुङलाई आउन भने समस्या रहेको छ । उहाँ भन्नुहुन्छ, ‘डाइलाइसिसको लागि दमौली आउने दिनमा कस्को मोटरसाइकल छ भनेर खोज्नुपर्छ, कहिले बाइकवाला आफन्त त कहिले बाइकवाला छिमेकी खोज्न बाध्य बनाएको छ ।’ डाइलाइसिस नगरे आफ्नो स्वास्थ्यको विषय भएकोले मोटरसाइकलको प्रयोग गरी डाइलाइसिस गर्न आउने गरेको उहाँ बताउनुहुन्छ ।

त्यस्तै अर्का लमजुङका कमनसिंह गुरुङ भने डाइलाइसिसका लागि एम्बुलेन्सको प्रयोग गरी आउने गरेको बताउनुहुन्छ । अरु गाडी प्रयोग गर्दा पास नपाइने भएपछि एम्बुलेन्स नै प्रयोग गर्दै आएको गुरुङ बताउनुहुन्छ । ‘हामी जस्ता बिरामी भइरहेका मानिसलाई कोरोनाको संक्रमण छिटो सर्ने भनेको सुनिन्छ तर हामी आउदा धेरै सचेत भएर आउने गरेको छु,’ उहाँले भन्नुभयो ।

त्यसैगरी तनहुँको भिमादका भरत राना प्राय एम्बुलेन्स र मोटरसाइकल प्रयोग गरी आउन गरेको बताउनुहुन्छ । कम खर्चमा दमौली आइपुग्न सकिने भएपनि लकडाउनले खर्च समेत बढेको राना बताउनुहुन्छ । ‘सवारीसाधन सहज भएको अवस्थामा कम खर्चमा दमौली आइपुग्ने गरेको थिए, अहिले लकडाउनले खर्च बढाएको छ, एम्बुलेन्स नै रिजर्भ नगरे दमौली आउन सकिदैन,’ उहाँ भन्नुहुन्छ ।

एम्बुलेन्सको पहुँच पुगेको क्षेत्रमा समस्या कम भएपनि ट्याक्सी रिजर्भ गरेर आउनेले भने निकै समस्या झेल्दै आएका छन् । डाइलाइसिस गराउन दमौली आउँदा समस्या झेल्नुपरेको भिमादका रानाले बताउनुभयो । उहाँका अनुसार डाइलाइसिस गराउन आउँदा सवारीसाधन नै पाइदैन ।

‘जसोतसो मोटरसाइकल लिएर आउँदा प्रहरीको पाँच/छ ठाँउमा जेकजाँच हुन्छ, चेकजाँचमा रोक्नुपर्यो, रोकेर डाइलाइसिसको बिरामी हुँ भन्छौ कतै छाडिदिन्छन् भने कतै रोकेर धेरैबेरसम्म सोधपुछ गर्नुहुन्छ, चेकजाँचका क्रममा प्रहरीलाई हेमो डाइलाइसिस बुक देखाउने गरेका छौं, त्यो देखाएपनि छाड्न गाह्रो मान्नुहुन्छ, ४५ मिनेटको बाटो चेकजाँचले गर्दा अस्पताल आउन तीन घन्टा भन्दा बढि लाग्छ,’ उहाँ भन्नुहुन्छ ‘कुनै बेला त चेकजाँच गर्दा चलाउन पाइदैन भनेर मोटरसाइकल नै नियन्त्रणमा लिनुभयो अनि हिँडेर डाइलाइसिस गर्न अस्पतालसम्म आइपुग्यौं ।’

लकडाउनले बढी डाइलाइसिसका बिरामीसँगै ज्येष्ठ नागरिकलाई प्रभावित बनाएको छ । तनहुँ सहित गोरखा, लमजुङ, पाल्पा लगायतका जिल्लाबाट डाइलाइसिस गराउन बिरामी आउने गरेको शत्रुघ्न मन्जु डाइलाइसिस युनिट दमौली शाखाका प्रमुख शैलेन्द्र पण्डितले बताउनुभयो । उहाँका अनुसार लकडाउनकै अवस्थामा पनि डाइलाइसिस युनिटमा ६७ जना बिरामीको डाइलाइसिस गर्दै आएको छ । दीर्घरोगी, बृद्धबृद्धा र सवारीसाधन नभएका बिरामी समस्या परेको पण्डित बताउनुहुन्छ ।

उहाँहरु सवारीसाधन अभावमा घन्टौ लगाएर आउनुपर्ने बाध्यता रहेको छ । टाढाबाट एम्बुलेन्स लिएर आउनेलाई खासै समस्या नभएपनि निजी सवारी भाडामा लिएर आउनेलाई भने बढी समस्या परेको छ । एम्बुलेन्सलाई सजिलै छाडिदिएपनि रिजर्भ सवारीलाई भने सोधपुछ हुने हुँदा धेरै ठाउँमा उहाँहरुले समस्या भोग्नु परेको उहाँको भनाई छ । डाइलाइसिस गराउन आएको भनेर किताब नै देखाएपनि प्रहरीले रोकेर राख्ने गरेको गुनासो उहाँहरुको गुनासो रहेको छ ।

सवारी साधन नपाएपछि आएनन् डाइलाइसिस गराउन

डाइलाइसिस बिरामी सवारी साधन नपाएपछि एक जना डाइलाइसिसको उपचार गराउन आएनन् । सबै डाइलाइसिसका बिरामी लकडाउनको अर्थ बुझ्न सक्ने अवस्था समेत नरहेको र सवारीको समेत व्यवस्थापन गर्न नसक्दा बिरामी नै नआएको अवस्था समेत झेलेको डाइलाइसिस युनिटले जनाएको छ ।

शाखा प्रमुख शैलेन्द्र पण्डितका अनुसार डाइलाइसिस गराउने पालो भएपनि सवारी साधन नपाएर लमजुङदेखि आउनुपर्ने बिरामी आएका थिएनन् । दमौली अस्पताल परिसरमा रहेको शत्रुघ्न मन्जु डाइलाइसिस यूनिटमा अहिले ६७ जना बिरामीले हप्ताको दुई दिन डाइलाइसिस गराउँदै आएका छन ।

गाउँपालिका अध्यक्षले नै पु¥याए डायलाइसिस बिरामी

बन्दीपुर गाउपालिका–५ कलचोकदेखि डाइलाइसिस गराउन मोटरसाइकलमा दमौली हिँडेका लिला बहादुर मगर डुम्रेमा भएको प्रहरी चेकजाँचमा केही समय रोकिएको देखेपछि अस्पतालसम्म पु¥याउनुभएको छ । ‘लकडाउन भएका कारण मोटरसाइकल रोकेर उहाँलाई सोधपुछ गरियो, सोधपुछ गरिएपछि उपचार गराउन आएको भनेर छाडियो,’ उहाँले भन्नुभयो ।

सोधपुछ गरेको केहीबेर पछि उहाँलाई छाडिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । डाइलाइसिस गराउन मोटरसाइकलमा आउनुभएको उहाँलाई धेरै ठाउँमा प्रहरीले चेकजाँच गर्ने हुँदा समयमै पुग्न गाह्रो भएकोले अस्पतालसम्म पु¥याउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

‘मोटरसाइकलमा समस्या पनि हुने र धेरै ठाउमा प्रहरीको सोधपुछ हुने गर्दा समय पनि बढी लाग्छ, त्यसैले म आफैले गाउँपालिकाको गाडीमा राखेर डाइलाइसिस गराउन अस्पताल पु¥याएको हुँ,’ उहाँले भन्नुभयो ।

समाजसेवीद्धारा डाइलाइसिसको बिरामीलाई निःशुल्क यातयातको सेवा

आँबुखैरेनी गाँउपालिकाका दुई जना युवा समाजसेवीले मृगौंला रोगका डाइलाइसिसको लागि यातयातको सेवा निःशुल्क उपलब्ध गराउनुभएको छ । २ वर्ष अघि दुवै मृगौंला खराब भएका आँबुखैरेनी गाउँपालिका–३ छबिसे टोल नजिकै बसोबास गर्दै आउनुभएका ६१ वर्षीय मंगल ढकाललाई डाइलाइसिसको निःशुल्क सेवा उपलब्ध गराउनुभएको छ ।

ढकाललाई अस्पताल दमौलीसम्म ल्याउन र आँबुखैरेनी सम्म पु¥याउन आँबुखैरेनी–३ का वडा सदस्य दिनेश के.सी. र नेपाल तरुण दल आँबुखैरेनी गाउँ कमिटीका उपाध्यक्ष बादल थकालीले आफ्नो सवारी मार्फत निशुल्क यातयातको सेवा उपलब्ध गराउनुभएको थियो ।

उहाँले लकडाउनको समयमा आवागमन रोकिएको अवस्थामा हप्तामा २ पटक डाइलाइसिसका लागि ढकाललाई एम्बुलेन्सलाई दिने पैंसा समेत नभएकोले ढकालकी श्रीमती विमलाले भन्नुभयो । ढकाललाई डाइलाइसिसको अवस्थामा हप्ताको दुई दिन समाजसेवी दिनेश केसी र बादल थकालीले सहयोग गर्नुभएको थियो ।