संक्रमित बालक आइसोलेसनमा, घर १४ दिनका लागि शिल


न्युज अफ नेपाल, हेटौंडा ।

कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका क्रममा जेठ २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी प्रकाशन गरेको रिपोर्टअनुसार कोरोना संक्रमितमध्ये काठमाडाैं सतुंगल निवासी ७ वर्षीय बालक पनि भएको जानकारी गरायो ।

ती बालक उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–७, आग्राको रहेको ट्राभल हिस्ट्रीबाट जानकारी हुनआयो । बालक र उनकी आमा पालुङ–२ हुँदै तरकारी बोक्ने गाडीमा यात्रा गरी सतुंगल पुगेको र बालकको परीक्षणको क्रममा कोभिड–१९ देखापरेको पुष्टि भएको थियो ।

उनको आमाको पीसीआर परीक्षणमा कोभिड–१९ नेगेटिभ आएको राष्ट्रिय प्रयोगशालाले जनाएको छ । उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक टे«सिङ जारी छ । जसमध्ये बालकको घर र उनी केही दिन बसेको उनकै मामाघर परिवारका ११ जनालाई पालुङ प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको छ ।

उहाँहरुमध्ये ६ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको नगरका मेयर लवशेर बिष्टले जानकारी गराउनुभयो । उहाँहरुलाई पीसीआर परीक्षणका लागि हेटौंडा ल्याइएको उहाँले बताउनुभयो ।

थाहा नगरपालिका क्षेत्रमा पनि अन्यत्रजस्तै जोखिम भएको हुँदा आमनागरिकलाई लकडाउनको पूर्ण परिपालना गरिदिन उहाँले अनुरोध गर्नुभएको छ ।

संक्रमित बालकको परिवार वैशाख ३० गते काठमाडौं गएको पाइएको हो । बालककी आमाले आफूहरु तरकारी गाडीमा राति काठमाडौं गएको बताउनुभयो । आफूहरु नौबीसेको बाटो भएर गएको भए पनि बाटोमा नरोकिएको उहाँले बताउनुभयो । छोरालाई कुनै लक्षणबिना संक्रमण देखिएको तर सँगै बसेकी आफूलाई संक्रमण नदेखिएकोमा उहाँले आश्चर्य व्यक्त गर्नुभयो ।

साँझ ६ बजे पालुङबाट गाडी चढेका उहाँहरु राति साढे १० बजेतिर कोठामा पुग्नुभएको थियो । उहाँले आफूहरु चैत १९ गते गाउँ आएको जानकारी दिँदै पालुङमा आफ्नो घर र माइतबाहेक अन्यत्र नगएको बताउनुभयो । यसअनुसार उहाँहरुले थाहानगरको वडा नम्बर–२ र ७ मा यात्रा गरेको देखिन्छ ।

चन्द्रागिरि नगरपालिका–१०, सतुंगलमा वडा कार्यालयनजिक बस्ने बालकलाई शुक्रवार साँझ कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

बालकको परिवार बस्ने घरमा घरधनीसहित ४३ जना बस्छन् । उक्त घर १४ दिनका लागि शिल गरिएको छ । त्यहाँ सुरक्षाकर्मी र स्वास्थ्यकर्मी खटिएका छन् । संक्रमितका बुबा खानेपानी ट्यांकर चालक रहेको बताइएको छ । संक्रमित बालकलाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेसनमा राखिएको छ ।