एक युवाले नागढुंगामा स्वास्थ्यकर्मीको झोला खोतल्दै हप्की दप्की गरेपछि…


न्युज अफ नेपाल, काठमाडौं ।

एक युवाले राजधानी प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा आइपुगेका स्वस्थ्यकर्मीलाई हप्की दप्की गर्दै झोला खोतलेको एउटा भिडियो केहीदिन देखि सामाजिक सञ्जालमा भाइरल छ ।

राजधानी प्रवेश गर्ने स्वास्थ्यकर्मी, पत्रकार र अत्यावश्यक सेवासँग सम्बद्ध व्यक्तिलाई सुरक्षामा कार्यरत कर्मचारीले यस्तो व्यवहार गर्दैनन् । तर ती युवाले आफू प्रहरी प्रशासनभन्दा माथि ठानेर स्वास्थ्यकर्मीको झोला खोतल्ने देखि मास्क किन नलगाएको भन्दै धम्की दिएका छन् । आखिर उनी को हुन् ? उनलाई यस्तो धम्की दिने अधिकार कसले दियो ? आाम सामाजिकि सञ्जालमा उनीमाथि प्रश्न उठ्न थालेको छ ।

भिडियोमा स्वास्थ्यकर्मीलाई हप्कीदप्की गर्ने व्यक्ति आफूलाई सामाजिक अभियान्ता बताउने उत्तम कार्की हुन् । केही वर्षअघि राजधानीको नागढुङ्गा कलंकी सडक विस्तारका क्रममा एक भिडियो मार्फत उनी भाइरल भएका थिए । उक्त भिडियो भाइरल भएपछि उनले यस्ता विभिन्न भिडियो सार्वजनिक गर्ने गरेका छन् ।

नागढुङ्गा नाका मार्फत उनले सार्वजनिक गरेको भिडियोले भने उनको चर्को आलोचना मात्रै भएको छैन कारबाहीको माग समेत भएको छ । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले गुण्डागर्दी शैलीमा स्वास्थ्यकर्मीमाथि धम्की दिएको र झोला खानतलासी गरेको भन्दै पक्राउ गरेर कानुनी कारबाही गर्न माग गरेका छन् ।

भिडियोमा उत्तम कार्कीको धम्कीका कारण निरिह देखिएका व्यक्ति प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमतीका प्रमुख नारायण कार्की हुन् । उनी शुक्रबार हेटौंडाबाट काठमाडौं फर्कँदै गरेका थिए । कोरोना परीक्षणका लागि हेटौंडामा भर्खरै सञ्चालनमा ल्याइएको ल्याबको व्यवस्थापन सकेर कार्की काठमाडौं फर्किएको बताइएको छ । वरिष्ठ मेडिकल प्रयोगशाला विशेषज्ञ रहेका कार्कीले भिडियोमै भाइरोलोजी सम्बन्धित फाइल समेत देखाएका थिए । उत्तम कार्की सहितका युवाहरुलेको अवरोध पछि उनी हेटौंडा नै फर्किएका थिए । उनी शनिबार साझ मात्रै काठमाडौं आएको बताइएको छ ।

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि सामाजिक अभियान्ता दाबी गर्ने उत्तम कार्कीले सामाजिक सञ्जालबाट भिडियो नै हटाएका छन् । गृह प्रशासनले कोरोना महामारीका क्रममा स्वस्थ्यकर्मी, सञ्चारकर्मी लगायत अत्यावश्यक सेवामा खटिनेलाई सवारी पास समेत नचाहिने सम्बन्धित निकायको परिचय पत्रको आधारमा सडकमा हिँड्न दिएको छ । तर, लकडाउनकै अवधिमा नागढुंगा नाकामा उत्तम कार्की सहितका युवाहरुको हुल कसरी पुग्यो भन्ने विषयमा भने प्रश्न उठेको छ ।

यसैबीच गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले खानतलासी गर्ने र सोधपुछ गर्ने अधिकार प्रहरीलाई मात्रै भएको प्रक्रिया दिएका छन् । कुनैपनि व्यक्ति त्यस्तो गतिविधिमा उत्रनु गैरकानुनी भएको भन्दै अवाञ्छित गतिविधिबारे विवरण बुझ्ने काम भएको र दोषीलाई कारबाही गर्ने उनले प्रतिक्रिया दिएका छन् ।

महानगरीय प्रहरी बृत थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले त्यतिबेला केही युवाहरुले भिडभाड गरेको र केही युवाले भिडियो बनाएको पाइएको बताए । उनले प्रहरीले त्यतिबेलै उनीहरुलाई त्यहाँबाट हटाएको समेत उनले बताए । ‘हामीले बल प्रयोग गर्छौं भनेपछि उहाँहरु साइड लाग्नुभएको थियो । यदि पीडित पक्षले महशुस गरेर प्रक्रियामा आउनु भयो भने त्यस्ता गतिविधिमा समलग्न युवाहरुलाई कारबाही उनले बताए ।