तीन सुरक्षा निकायका ८ कोरोना संक्रमित


काठमाडौं ।

समुदायमा प्रवेश गरेको कोरोना भाइरसको संक्रमणबाट तीनवटै सुरक्षा निकायका ८ जनामा देखिएको छ ।

बिशेष गरी तराईका जिल्लामा कार्यरत सुरक्षाकर्मी उक्त संक्रमणकोबाट संक्रमित भएको पाइएको छ । नेपाल प्रहरीका तीन, नेपाली सेनाका २ र सशस्त्र प्रहरी बलका ३ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये नेपाल प्रहरीका २ जना कपिलवस्तुमा कार्यरत रहेको र अर्का एक जना बारामा कार्यरत रहेको नेपाल प्रहरीका प्रवक्ता निरज शाहीले जानकारी दिनुभयो ।

त्यस्तै नेपाली सेनाका २ जना मध्यपूर्वी पृतना महोत्तरीमा कार्यरत रहेको बताइएको छ । दुई जनामध्ये १ जना पृतनापति भएको बताइएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले संक्रमितहरूलाई राजधानी ल्याउने क्रम जारी रहेको र बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको कोरोना अस्पतालमा उपचार गरिने जानकारी दिनुभयो ।

शनिबार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनीहरूमा कोरोना संक्रमणको पुष्टि भएको जनाएको थियो ।

त्यसै गरी सशस्त्र प्रहरी बलका पनि ३ जना संक्रमित भएका छन् । संक्रमितहरू एक जना बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा कार्यरत रहेको बताइएको छ ।

एक जना कपिलवस्तुमा कार्यरत रहेको र अर्का एक जना नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी रहेको बताइएको छ । ती सुरक्षाकर्मी महेन्द्रनगरमा रहेको आफ्नो घरमा बिदाबाट फर्किएपछि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।