ओली–प्रचण्डको पुरानै बोली- पार्टी एकताको काम चाँडै सम्पन्न हुने


नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिको सामना गरिने बताउनुभएको छ ।

अध्यक्षद्वयले सरकार गठनका दुई वर्ष र पार्टी एकतापछिका अवस्थाहरूको विश्लेषण गर्दै वर्तमान सरकारले राष्ट्रिय आकांक्षा पूरा गर्न अथक प्रयास गरेको बताउनुभएको हो ।

२७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वार्षिकोत्सवका सन्दर्भमा शनिवार संयुक्त वक्तव्य जारी गर्दै अध्यक्षद्वयले थुप्रै कठिनाइ र सीमाका बाबजुद यस क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गर्नुभएको छ ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परी तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । मदन–आश्रित स्मृति दिवसकै ऐतिहासिक सन्दर्भ पारेर ठीक दुई वर्षअघि विसं २०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टीको एकीकरण भएको थियो ।

दिवंगत भण्डारीले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर समकालीन कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान पु¥याउनुभएको वक्तव्यमा उल्लेख गरिएको छ । लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतालाई आत्मसात गर्दै कम्युनिस्ट पार्टीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित गर्न, नेपालको विशिष्ट परिस्थितिअनुसार क्रान्तिको मौलिक बाटो र सिद्धान्तको विकास गर्न एवं प्रगतिशील राष्ट्रवादका आधारमा राष्ट्रिय हितको दृढ पक्षपोषण गर्न राष्ट्रियताका पक्षमा अथक संघर्ष गर्न जननेता मदन भण्डारीको देन विशिष्ट महत्वको रहेको वक्तव्यमा भनिएको छ ।

उक्त घटनाको रहस्य अझै उद्घाटित हुन नसकेको र आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार नरहेको भन्दै वक्तव्यमा नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिने गरेको जनाइएको छ ।

‘आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ र सामाजिक न्याय, समावेशी एवं समानुपातिक लोकतान्त्रिक प्रणाली एवं धर्मनिरपेक्षता जस्ता उपलब्धिहरू हासिल भएका छन् । यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिवार्चित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध छ ।’ –वक्तव्यमा जनाइएको छ ।

अध्यक्षद्वयद्वारा जारी वक्तव्यमा भनिएको छ– ‘स्वस्थ छलफलमा आधारित उन्नत वैचारिक एकता, स्वअनुशासनमा आधारित उन्नत संगठनात्मक एकता र उच्च संस्कारयुक्त, भावनात्मक एवं कमरेडली सम्बन्धले मात्रै हामीलाई यो ऐतिहासिक दायित्व पूरा गर्ने सामथ्र्य प्रदान गर्दछ भन्ने यथार्थप्रति पार्टी स्पष्ट छ ।’

एकीकरण यताका दुई वर्षबीचमा हामीले पार्टीको संठनात्मक एकीकरणलाई आधारभूतरूपमा सम्पन्न गरेको र केन्द्रीय कमिटीको निर्णयअनुसार ‘पार्टी एकता सदृढीकरण र जन–सम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्दै एकता महाधिवेशनको तयारी गर्ने योजना कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण प्रभावित भएको जनाउँदै अब पनि एकीकरणका बाँकी कामलाई छिट्टै सम्पन्न गर्दै पार्टीको सम्पूर्ण शक्तिलाई राष्ट्रिय राजनीतिक अभिभारा पूरा गर्ने वक्तव्यमा भनिएको छ ।