सीमा अतिक्रमणको विरुद्धमा फ्र्याङ्कफर्टस्थित भारतीय वाणिज्य दूतावासमा विरोध पत्र बुझाइयो

0
Shares

काठमाडौँ । 

जर्मनीमा क्रियाशील नेपाली सङ्घसंस्थाले भारतले नेपाली भूमिक अतिक्रमण गरी सडक पूर्वाधार निर्माण गरेको विरोधमा फ्र्याङ्कफर्टस्थित भारतीय वाणिज्य दूतावासमा विरोध पत्र बुझाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), प्रवासी नेपाली एकता मञ्च, नेपाली जनसम्पर्क समिति र नेपाली जनप्रगतिशील मोर्चा जर्मनीका तर्फबाट शुक्रबार संयुक्त विरोध पत्र भारतीय दूतावासमा बुझाइएको हो । मञ्चका महासचिव शम्भुप्रसाद पोखरेलले सो विरोध पत्र दूतावासका प्रतिनिधिलाई बुझाउनुभएको हो ।

यसअघि जर्मनीमा क्रियाशील प्रवासी नेपालीका सङ्घसंस्थाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेको ऐतिहासिक तथ्य, दस्तावेज, प्रमाण तथा सन्धिले प्रमाणित गरे पनि सो क्षेत्रमा भारतले अवैधरुपमा सडक पूर्वाधार बनाएको भन्दै भत्र्सना गरेका थिए ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रियाले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा अष्ट्रियाको भियानास्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको थियो । सङ्घले सबै मुलुकमा रहेका समितिमार्फत सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावासमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको व्यवहोरासहितको ज्ञापनपत्र बुझाउन निर्देशन दिएको थियो ।

यसैबीच सङ्घले भारतले गरेको नेपाली भूमि अतिक्रमणका विरुद्ध हस्ताक्षर सङ्कलन अभियान शुरु गरेको छ । लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विरोधमा विश्वभर छरिएर रहेका नेपालीले भारतलाई दबाब दिन हस्ताक्षर सङ्कलन गर्न लागेका हुन् । हस्ताक्षर अभियान शुक्रबारदेखि शुरु भएको छ ।

विश्वभरबाट सङ्कलन गरिएको हस्ताक्षर यही जेठ २३ गते काठमाडौँस्थित भारतीय दूतावासमा बुझाइने सङ्घले जनाएको छ । यही जेठ १८ गतेसम्म अनलाइनबाट हस्ताक्षर गर्न सकिनेछ । सङ्कलन गरिएको हस्ताक्षर जेठ १७ गते सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावास, मिसन तथा सम्बन्धित निकायमा बुझाइने सङ्घको सूचना सञ्चार तथा प्रशासन समितिले जनाएको छ ।