‘कात्तिक मसान्तसम्म निर्माण कार्य असम्भव’


नेपाल समाचारपत्र, काठमाडौं

नेपाल निर्माण व्यवसायी महासंघले विश्वव्यापी महामारीका रूपमा रहेको कोराना भाइरस (कोभिड–१९) का कारण कात्तिक मसान्तसम्म निर्माण कार्य अगाडि बढाउन नसकिने जनाएको छ। महासंघ स्थायी समितिको बिहीबार बसेको आकस्मिक बैठकले सो निष्कर्ष निकालेको हो।

कात्तिकसम्म निर्माण कार्य हुन नसकेको अवधिलाई दृष्टिगत गरी यसबीचका सम्पँर्ण विकास निर्माणका कामको म्याद स्वतः थप हुने व्यवस्थाका लागि सरकारसँग अनुरोध गरेको छ। जटिल परिस्थितिबीच त्यस्ता आयोजनालाई निरन्तरता दिएमा पनि आयोजनाको लागत अत्यधिक थप हुन गई साविकको लागतमा कार्य सम्पन्न गर्न नसकिने देखिएको हुँदा थप लागत समावेश गर्न र ती आयोजनाको कार्य हुन नसकेको अवधिको ओभरहेड स्वतः समावेश गरिदिने व्यवस्थाका लागि महासंघले अनुरोध गरेको छ।

त्यस्तै विकास निर्माणका कार्यको निरन्तरताका लागि राज्यका संयन्त्रबीच स्पष्ट र प्रभावकारी समन्वयसहित स्पष्ट नीति निर्देशन जरुरी रहेको महासंघको ठहर छ। कोरोनाको महामारी फैलिएसँगै श्रमिक, प्राविधिक र अन्य जनशक्ति आ–आफ्नो घरतर्फ गई खेतीपातीको काममा व्यस्त भइसकेका र दशैं–तिहार, छठ चाडपर्व अगाडिसम्म श्रमिक काममा फर्कन नसक्ने महासंघले जनाएको छ।

निर्माण सामग्री सप्लायर्सहरू बन्द हुने, नेपालमा प्रयोग हुने अधिकांश निर्माण सामग्री (ढुंगागिट्टी, बालुवा, सिमेन्ट बाहेक)का कच्चा पदार्थ भारत, चीनलगायतका अन्य देशबाट आयात हुने गरेको हुँदा ती सामग्री आयात गर्ने उपयुक्त वातावरण नबनेसम्म विकास निर्माणका काम गर्न नसकिने महासंघले जनाएको छ।

अत्यावश्यक सेवा तथा कोभिड–१९ को नियन्त्रण तथा रोकथामसँग सम्बन्धित पँर्वाधार निर्माणका कार्यबाहेक विकास निर्माणसँग सम्बन्धित सम्पँर्ण कार्यको निरन्तरता दिन नसकिने हुँदा सोहीबमोजिम सरकारबाट आवश्यक स्पष्ट नीतिगत निर्णयका लागि महासंघले माग गरेको छ।