हेटौंडा अस्पताललाई ‘सिस्टर रोबोट’


नेपाल समाचारपत्र, हेटौंडा

कोरोना भाइरसको त्रास बढेको समयमा स्वास्थ्यकर्मीले सीधै बिरामीसम्म पुगेर जाँच गर्ने, औषधि दिनेभन्दा पनि अत्याधुनिक प्रविधिमा अप्रत्यक्षरूपमा सेवा गर्ने गरी ‘सिस्टर रोबोट’ हस्तान्तरण गरिएको छ ।

संक्रमितको रेखदेख गर्न रोबोट सारथी बन्ने विश्वास छ । कोरोनाको सन्त्रासले महामारीको रूप लिएसँगै यसको संक्रमण बढ्न नदिन विश्व नै यति बेला लागिपरेको छ । नेपालमा दिन प्रतिदिन कोभिड–१९ को संक्रमण बढ्दै गएपछि बिरामीको उपचार रोबोटको सहयोगमा गर्न थालिएको हो ।

रोेबोट वार्डमा घुम्छ र व्यक्तिको स्वास्थ अबस्थाबारे स्वास्थ्यकर्मीलाई जानकारी दिन्छ । डाक्टरको सूचना पनि बिरामीलाई दिन्छ । बिरामीको आवश्यकताअनुसार खाना र औषधि वितरणमा पनि यसको प्रयोग हुनेछ ।

कोरोना संक्रमित बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मीलाई संक्रमण नहोस् भन्ने उद्देश्यले सिस्टर रोबोट प्रयोगमा ल्याउन लागिएको हो ।

नेपाल इन्जिनियर एसोसिएसन बाग्मती प्रदेश समितिले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमार्फत हेटौंडा अस्पताललाई रोबोट हस्तान्तरण गरेको छ । सिस्टर रोबोट हेटौंडा–४ को कर्रामा रहेको आइसोलेसनमा राखिनेछ ।

कोरोना संक्रमित बिरामीलाई सीधै स्वास्थ्यकर्मी पुगेर जाँच गर्ने, औषधि दिने र सहयोगीले खाना लगिदिने भन्दा पनि ‘सिस्टर रोबोट’ का माध्यमले पु¥याइने हेटौंडा अस्पताल प्रमुख डा. प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मी छुट्टै कोठामा बसेर कम्प्युटरका माध्यमले रोबोट बिरामीकहाँ पु¥याइने, बिरामीले आफ्ना समस्या भिडियोमार्फत राख्ने र त्यहीअनुसार उपचार गर्न सहजताका लागि उक्त रोबोट उपयोगमा ल्याइने डा. श्रेष्ठले बताउनुभयो ।

कोरोना संक्रमितका बिरामीको उपचारका लागि सहजता प्रदान गर्ने र कोरोनाको संक्रमण स्वास्थ्यकर्मीमा नफैलियोस् भन्ने उद्देश्यले अस्पताललाई उपलब्ध गराइएको अस्पताल विकास समिति अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।

उक्त रोबोटमा ३० केजीसम्म सामान रिमोटका माध्यमले बिरामीसम्म लैजान सजिलो हुनेछ । करिब ९० हजार लगानीमा रोबोट निर्माण गरिएको एसोसिएसन प्रदेश अध्यक्ष नन्दलाल बन्जाडेले बताउनुभयो ।

कोरोना भाइरस संक्रमितको नजिक जानुहुन्न । गयो भने भाइरस सर्छ । दूूरी कायम गर्नुपर्छ । त्यस कारण उनीहरूको हेरचाह र रेखदेखका लागि यस्तो उपाय अपनाइएको उहाँले बताउनुभयो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै अस्पतालमा डाक्टर र नर्सहरू पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । ‘रोबोटको सहयोगमा डाक्टर र नर्सलाई भाइरस सर्ने सम्भावना कम हुन्छ’, उहाँ भन्नुहुन्छ– ‘बिरामीको उपचारमा पनि कमी हुँदैन ।’

रिमोटबाट रोबोटलाई नियन्त्रण गर्न सकिन्छ । रोबोटमा क्यामेरा जडान गरिएको हँुदा ल्यापटपमा हेरेपछि नियन्त्रण गर्न सकिन्छ । डाक्टर वा नर्सले रिमोटबाट सजिलै नियन्त्रण गर्न सक्ने गरी रोबोट निर्माण गरिएको छ ।

रोबोटले आवश्यक चिज बिरामीसम्म पु¥याउने भएकाले स्वास्थ्यकर्मी र बिरामीबीच प्रत्यक्ष सम्पर्कमा आउनुपर्दैन । त्यसैले रोबोट प्रयोग गर्दा बिरामीको सेवा गर्नेहरू सुरक्षित हुने निर्माताको दाबी छ ।

नेपालमा राष्ट्रिय आविष्कार केन्द्रले पनि कोरोना भाइरसबाट संक्रमित बिरामीका लागि खाना तथा औषधि पु¥याउने रोबोटको विकास गरेको छ ।