त्रिवि शिक्षण अस्पतालको ईएनटी सेवा बन्द


काठमाडौं, (नेस)

शल्यक्रियाका लागि भर्ना गरिएकी एक बालिकामा कोरोना भाइरस संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी सेवा स्थगित भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कपिलवस्तुकी ६ वर्षे बालिकामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

संक्रमण देखिएकी बालिकाको सम्पर्कमा आएका विभागका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी परीक्षण गरी रोग नदेखिए पनि १४ दिन सेल्फ आइसोलेसनमा जानुपर्ने भएकाले सेवा रोकिने भएको हो ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाद्वारा जारी विज्ञाप्तिमा ईएनटी सेवा स्थगित गर्ने निर्णय भएको जनाइएको छ ।

विज्ञप्तिमा हाललाई इलेक्टिभ सर्जरीहरू नगर्न तथा इमर्जेन्सी सर्जरीहरू गर्दा आवश्यक पीपीई लगाएर मात्र गर्नुहुन अनुरोध गरिएको छ ।

न्युरो सर्जरी वार्डको बेड नम्बर ५० मा वैशाख ३० गते भर्ना गरिएकी नाक, कान, घाँटीकी बिरामीलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

अस्पतालले संक्रमित बालिकालाई गणेशमान सिंह भवनको आइसोलेसन क्याबिनमा सारेर उपचार भइरहेको जनाएको छ ।

अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरी बिरामीको प्राइमरी सम्पर्कमा आएकाको कन्ट्रयाक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गर्ने तयारी भइरहेको जनाएको छ ।

त्यसै गरी प्राइमरी कन्ट्रयाकमा आएकाहरू आइसोलेसनमा जाने र अन्य कर्मचारीले नियमित काम गर्नसमेत अस्पताल प्रशासनले अनुरोध गरेको छ ।