कच्चा पदार्थको ढुवानीमा स्थानीयको अवरोध, विकास निर्माण अघि बढ्न सकेन


सुरेश तामाङ, काठमाडौं ।

मुलुकमा जारी बन्दाबन्दीका क्रममा सामाजिक दूरी कायम गर्दै विकास निर्माणको काम अघि बढाउन पछिल्लो दिनमा सरकारले बन्दाबन्दी खुकुलो बनाएको छ । विकास आयोजनाको कामका लागि चाहिने निर्माण सामग्रीको आपूर्तिमा भने स्थानीयको अवरोध देखिएपछि निर्माणको काम अघि बढ्न सकिरहेको छैन ।

काठमाडौं उपत्यका सडक विस्तार योजनाले उपत्यकाभित्रको सडक आयोजनाका लागि चाहिने निर्माण सामग्रीको सहज आपूर्ति नभएको जनाएको छ । उपत्यका नजिकका मेलम्ची, पनौती, टीकाभैरव, डुकुछाप, धादिङलगायत स्थानबाट निर्माण सामग्रीहरू आपूर्ति हुने गरेको योजनाले जनाएको छ । जहाँबाट ढुंगा, रोडा, ग्राभेलजस्ता निर्माण सामग्री आउने गर्छ ।

बन्दाबन्दीकै क्रममा ट्रिपर, ट्रक, डोजरलगायत क्रसर सञ्चालन हुँदा आफूहरू त्रसित बनेको भन्दै स्थानीयबाट निर्माण सामग्री आपूर्तिमा अवरोध भइरहेको निर्माण व्यवसायी वीरेन्द्र महर्जनले बताउनुभयो । ‘सरकारले निर्माण सामग्री आपूर्ति गर्न सहज बनाएको भनेको छ । तर, आपूर्तिमा स्थानीयको अवरोध छ । आपूर्ति गर्नै सकिरहेको छैन ।’ –उहाँले भन्नुभयो ।

स्वास्थ्य सुरक्षाको प्रबन्ध गरेर स्थानीयलाई आग्रह गरी आपूर्ति सहज पार्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । ‘हामीले स्थानीय सवारी र चालकलाई प्रोत्साहित गरी स्वास्थ्यसम्बन्धी सम्पूर्ण सुरक्षाको प्रबन्ध गरी आपूर्तिको कोशिस गर्दै छौँ । स्थानीय जनतालाई सम्झाइरहेका छौं ।’ –उहाँले भन्नुभयो ।

सरकारी पक्षले निर्माण सामग्री आपूर्तिमा सहज वातावरण बनाउने भूमिका खेलेर सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
योजनाको कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर लक्ष्मण देवकोटाले असारसम्म सम्पन्न गर्नुपर्ने सडक योजनामा ठूलो परिणाममा ढुंगा, गिट्टी, ग्राभेलजस्ता निर्माण सामग्री आवश्यक परेको उहाँले बताउनुभयो ।

‘सडकको विस्तारको काम गर्न ठूलै परिणाममा निर्माण सामग्री चाहिन्छ । तर, त्यो पूर्ति हुन सकिरहेको छैन । निर्माण व्यवसायीहरूले स्थानीयको अवरोधकै कारण आपूर्ति हुन नसकेको जानकारी आएका छन् । हामी त्यसका लागि पहलसमेत गरिरहेका छौं ।’ –उहाँले भन्नुभयो ।

तत्काल ५० हजार घनमिटर ग्राभेल, २० हजार घनमिटर ढुंगा, बालुवालगायतका निर्माण सामग्रीको आवश्यकता परेको काठमाडौं उपत्यका सडक विस्तार योजनाले जनाएको छ ।

सिमेन्ट बजारबाटै सहज उपलब्ध भए पनि विभिन्न स्थानबाट आपूर्ति हुने ढुंगा गिट्टीजस्ता निर्माण सामग्रीको सहज आपूर्ति नभएपछि सडक विस्तारको काममा ढिलाइ भइरहेको छ । केही दिनदेखि भने मेलम्ची र पनौतीबाट थोरै मात्र ढुवानी भए पनि त्यो अपुग भएको उहाँले जानकारी दिनुभयो ।

जसले गर्दा ११ वटा सडक योजनाको काम प्रभावित बनेको उहाँले बताउनुभयो । जोरपाटी–सुन्दरीजल, इमाडोल–लुभु–लामाटार र ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेलेको मात्रै विस्तारको बाँकी काम शुरू भए पनि निर्माण सामग्री आपूर्ति नहुँदा समस्या देखिएको उहाँको भनाइ छ ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी–साँखु, जोरपाटी–सुन्दरीजल, इमाडोल–लुभु–लामाटार, ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले, कर्मनाशा–हरिसिद्धि–गोदावरी, नख्खुखेला–भैंसेपाटी–बुङमतीलगायत ११ वटा सडक विस्तार भइरहेको थियो । सुन्दरीजलमा ह्युमपाइप हाल्ने काम, लेले सडकको जंगलमा कटिङ र पर्खालको काम शुरू भएको उहाँले जानकारी दिनुभयो ।