पीसीआर परीक्षणको दायरा फराकिलो बनाउन सर्वोच्चको आदेश


विकास भट्टराई, काठमाडौं ।

सर्वोच्च अदालतले कोरोना भाइरसबाट बच्नका लागि पीसीआर परीक्षणको दायर बढाउन सरकारलाई बिहीबार अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले पीसीआर परीक्षणको दायर बढाउन सरकालाई अन्तरिम आदेश दिएको हो । नेपालमा पीसीआरको परीक्षण कम भएको उल्लेख गर्दै त्यसको दायरा फराकिलो बनाउनका लागि आदेश दिन माग गर्दै अधिवक्ता कलमबहादुर खत्रीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

सर्वोच्चले दिएको अन्तरिम आदेशमा हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने अवस्था भएको उल्लेख गर्दै तत्काल पीसीआर परीक्षणको दायरा बढाई सोको अभाव नहुनेतर्फ आवश्यक पहल गर्न भनिएको छ ।

रिट निवेदनमा नेपालमा पीसीआर परीक्षणको दायर साँघुरो भएका कारण जुनसुकै बेला पनि संक्रमण फैलन सक्ने उल्लेख गरिएको थियो । धेरै ठाउँमा आरडीटी परीक्षणको मात्रा बढी देखिएको उल्लेख गर्दै रिट निवेदनमा यसको विश्वसनीयता नभएको जनाइएको थियो ।

सरकारले पीसीआर परीक्षण गर्ने क्षमता उल्लेख्यरूपमा रहेको बताए पनि त्यसको मात्रालाई सीमित तुल्याइरहेको छ । सर्वसाधारणकोकोरोना भाइरसको परीक्षण गर्नुपरेमा पहिले आरडीटी परीक्षण गरिन्छ अनि मात्र पीसीआर परीक्षण गर्नेतर्फ प्रक्रिया अगाडि बढाइने गरिएको छ ।

ठूला पदमा रहेका व्यक्तिको भने सीधै पीसीआर परीक्षण गर्ने गरिन्छ । झन्डै एक साताअघि मात्र सरकारले सम्पूर्ण सांसदको आरडीटी परीक्षण नगरी सीधै पीसीआर परीक्षण गरेको थियो । सरकारको यस्तो प्रवृत्तिलाई लिएर आलोचना हुँदै आएको छ ।

आरडीटी परीक्षण गर्दा नेगेटिभ आएको व्यक्तिको पीसीआर परीक्षण गर्दा पोजेटिभ आउन पनि सक्ने देखिएको छ ।

आरडीटीलाई भरपर्दो मानिएको छैन । कतिपय देशले आरडीटी परीक्षण गर्ने उपकरण नै खरिद गरिएको देशमा फर्काइदिएका छन् ।

केही दिनअघि सर्वोच्चले आरडीटी परीक्षणलाई जारी राख्नुका कारण पेस गर्न पनि सरकारलाई आदेश दिइसकेको छ ।

सर्वोच्चले पीसीआर परीक्षणको दायरालाई फराकिलो नबनाउनुको कारण पेस गर्न पनि सरकारलाई आदेश दिएको छ । त्यस्तो कारण १५ दिनभित्र पेस गर्न आदेश दिएको हो । रिट निवेदकको तर्फबाट पदमबहादुर खत्री, कीर्तिनाथ शर्मा पौडेल, सन्तोष भण्डारी, नवराज पाण्डे र सुजन नेपालले बहस गर्नुभएको थियो ।

परीक्षणको दायर बढाइँदै

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै उच्च जोखिम रहेका २८ जिल्लामा सरकारले परीक्षणको दायरा बढाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

परीक्षणको दायरा बढाइएका क्षेत्रहरूमा प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न २८ जिल्ला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनुभयो ।

कोरोना परीक्षण साम्रगी र स्वास्थ्यकर्मीलाई हवाई तथा स्थलमार्गबाट सम्बन्धित क्षेत्रमा पठाउने काम भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीलगायत १४ हजार ७ सय आरडीटी, ७ हजार भीटीएम, र पीपीईलगायतका सुरक्षा साम्रगीसमेत पठाइएको छ ।