लुटपाटको अभियोगमा तीन पक्राउ


काठमाडौं, (नेस)

काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको प्रदेश ३–०१–२३ च–११०९ नम्बरको एम्बुलेन्सबाट धनमाल लुटपाट गरेको अभियोगमा ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरि नगरपालिका–४ बस्ने २४ वर्षीय सरोज कामी, ३१ वर्षीय रामभगत शाही र २७ वर्षीय शिव शाही रहेका छन् ।

चन्द्रागिरि नगरपालिका–४ पानीघाटस्थित जंगलमा उनीहरूले उक्त एम्बुलेन्स जबरजस्ती रोकी चालकसँग रहेको धनमाल लुटपाट गरेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै निजहरूले गणेशमानमार्गमा पर्ने चित्लाङ सडकमा तरकारी ढुवानी गर्ने बा४ख ९९० नम्बर तथा ग१च ७६३३ नम्बरको गाडीमा सवार चालकलाई समेत आफूहरू सादा पोशाकका प्रहरी हौं भनी कुटपिट तथा लुटपाट गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूको साथबाट घटनामा प्रयोग भएको २ मोटरसाइकल, लुटपाट गरेको नगद ३३ हजार ८ सय ९५ रुपियाँ र मोबाइल ६ थान प्रहरीले बरामद गरेको छ । पक्राउ परेका व्यक्तिउपर चोरी तथा डाँकासम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।