कोरोना पोजिटिभ ६ वर्षीया बालिका त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिईन


न्युज अफ नेपाल, काठमाडौँ । बिहीबार बिहान कोरोना पोजिटिभ देखिएकी कपिलवस्तुकी ६ वर्षीया बालिका त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना रहेको खुलेको छ ।

उनलाई रेस्पिरेटोरी प्यापिलोम्याटोसिस (स्वासनलीमा मासु पलाएको) देखिएका कारण शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रहेको पाइएको हो ।

शिक्षण अस्पतालमा शल्यक्रिया गर्नका लागि भर्ना गरिएकी बालिकामा कोरोना पोजिटिभ देखिएपछि अहिले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु त्रसित भएका छन् ।

उनलाई ईएनटी (नाक कान घाँटी) विभाग को ओपीडीमा जाँच गरिएपछि शल्यक्रियाका लागि भर्ना गरिएको  त्रिवि अस्पतालस्थित उच्च स्रोतले जानकारी दिएकाे छ । हाल ईएनटी विभागको भवनलाई कोरोना संक्रमितको उपचारका लागि भनेर तयार पारिएको कारण उनलाई न्यूरो सर्जरी वार्डमा भर्ना गरेर राखिएको थियो ।

शिक्षण अस्पताल स्रोतका अनुसार अहिले उनको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि टोली अस्पताल पुग्दै छ । यसबारे थप विवरण आउन बाँकी छ ।