ढुक्क हुनुस् पूरक बजेट आउँदैन: अर्थमन्त्री


काठमाडौं, (नेस)

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ मा अहिलेको अवस्थामा पूरक बजेट ल्याउन आवश्यक नभएको बताउनुभएको छ।

प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका लागि प्रस्तुत सिद्धान्त र प्राथमिकताको छलफलमा सांसद्ले सोधेको प्रश्नको जवाफ दिँंदै यस्तो बताउनुभएको हो।

‘सरकारले सोचेर, विवेक प्रयोग गरेर बजेट ल्याउने हो, भोलि कुनै समस्या भए पूरक बजेट ल्याउन सकिन्छ, अहिले नै आधा वा पूरक बजेट ल्याउन सकिँदैन, भोलि के हुन्छ माननीयज्यू, त्यो कसलाई थाहा छ र ? बजेट यथार्थपरक र पूरै आउँछ, पूरक आउँदैन ढुक्क हुनुहोस्,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो।

प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले जेठ १५ मा सानो आकारको बजेट ल्याएर साउनमा पुरक बजेट ल्याउन माग गरेको थियो।

रोग र भोकसँग लडिरहेको बेलामा भोकसँग लड्नका लागि आर्थिक क्षेत्र चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो। ‘लगानी नबढाएको खण्डमा रोजगारी कसरी सिर्जना हुन्छ। अब हामीले आर्थिक क्रियाकलाप अघि बढाउनैपर्छ।’

कोरोनासँगै न्यूनतम आर्थिक क्रियाकलाप नगरे रोगबाट बचे भोकबाट बच्न नसकिने बताउनुभयो। उहाँले चालू आर्थिक वर्षमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने भने पनि कोरानाको कारण यसलाई असर गरेको बताउनुभयो। उहाँले खर्च कटौतीको विषय सांसद्हरूले उठाएको भन्दै त्यो विषय बजेटले समेट्ने जानकारी गराउनुभएको थियो।