रेल चल्यो, ओइरिँदै नेपाली


नेपाल समाचारपत्र, बाँके

‘हाम्रो गाउँका मान्छेले रेलको टिकट काटिसके । नेपालगन्ज नाकाबाट भित्रिने अवस्था के छ ?’ –बर्दियाबाट एक जनाले फोन गरे ।
बर्दियाबाट मात्रै होइन, कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट नेपालगन्जमा बस्ने पत्रकार या आफन्तीलाई यस्तो फोन आइरहेका छन् । उनीहरूको एउटै चासो छ– भारतबाट आफन्ती हिँडिसके नेपालगन्जबाट भित्रिन दिएको छ कि छैन ?

भारतमा रेल चलेसँगै नेपालीको घर फिर्ती बढ्दै गएको छ । नेपालगन्जको पूर्वी नाकाबाट मात्रै दुई दिनमा २ सय ९८ जना भित्रिएका छन् । ३० जना नाकामा आइपुगेका छन्, भित्रिने तरखरमा रहेका छन् ।

भारतबाट धमाधम नेपाली घर फिर्ता भइरहदा कोरोनाको जोखिम बढाएको छ । भारतबाट भित्रिने नेपालीमा कोरोनाको जोखिम बढी हुने गरेको छ । बाँकेको पूर्वी नाकाबाट भित्रिएका बासिन्दालाई स्थानीय पालिकाले क्वारेन्टाइन बनाएर राखेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहका अनुसार, सात ठाउँमा क्वारेन्टाइन बनाएर २ सय ९८ जनालाई राखिएको छ ।

यही संख्यामा घर फर्किनेहरू बढ्दै जाँदा पालिकाहरूले धेरै क्वारेन्टाइन बनाउनुपर्ने देखिन्छ । अझ अहिलेसम्म नेपालगन्जको मुख्य नाकाबाट कोही प्रवेश गर्न पाएका छैनन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अहिले जिल्लामा भित्रिएकाहरू भारतमा क्वारेन्टाइनमा बसेका नभई भागेर आएको बताउनुभयो । ‘भारतको सीमावर्ती ठाउँमा रहेका क्वारेन्टाइनमा मात्रै ५ सय बढी नेपाली रहेका छन् । उनीहरू आएका छैनन् ।’ –प्रजिअ खड्काले भन्नुभयो ।

भारतबाट आउनेहरु छोटी नाकाबाट जिल्लामा प्रवेश गरिरहेका छन् । यस्तो हुँदा अझ जोखिम बढ्न सक्छ । जिल्लाका एकथरी अगुवाले मुख्य नाकाबाट जिल्लामा प्रवेश गराएर उनीहरूलाई क्वारेन्टाइनमा राख्ने विचार व्यक्त गरिरहेका छन् ।

फेरि बाँकेकै विभिन्न क्वारेन्टाइनमा डेढ सय बढी भारतीय छन् । उनीहरूको आरडीटी जाँच भइसकेको छ । लामो समयदेखि क्वारेन्टाइनमा राखिएकाले उनीहरूलाई भारत पठाएर भारतको क्वारेन्टाइनमा रहेका नेपालीलाई मुख्य बाटोमा ल्याउनुपर्ने आवाज उठेको छ ।

प्रजिअ खड्काले यस विषयमा केन्द्रसँग छलफल भइरहेको बताउनुभयो । ‘यता रहेकालाई उता दिने र भारतमा रहेकालाई यता ल्याउन हामी तयारी अवस्थामा छौं’, प्रजिअ खड्काले भन्नुभयो– ‘हामी केन्द्रको निर्णय पर्खेर बसिरहेका छौं ।’

नेपालगन्जका पश्चिमको चलनचल्तीको नाका हो । यहाँबाट बाँकेको मात्रै होइन, कर्णाली प्रदेशका धेरै मानिसको मुभमेन्ट हुन्छ । यस्तोमा एकैपटक धेरै जिल्लाका धेरै मानिस नेपालगन्जको नाकामा आइपुगे भने के गर्ने ?

स्थानीय प्रशासनलाई तनावको विषय बनेको छ । जिल्लाको मात्रै भए त सम्बन्धित पालिकालाई क्वारेन्टाइन बनाएर राख्न लगाउन सकिन्छ । कर्णाली प्रदेशलगायत अन्यत्र जिल्लाका व्यक्ति नेपालगन्ज नाकाबाट भित्रिँदा उनीहरूलाई कहाँ, कसरी राख्ने ? छलफल गर्नुपर्ने बेला भएको छ ।

नेपालगन्ज नाकाबाट भित्रिएका १ सय ८१ जनालाई नेपालगन्जमा राख्दा स्थानीय प्रशासन, नेपालगन्ज उपमहानगरपालिकाले ठूलो सास्ती व्यहोरिसकेका छन् । त्यसअघि चैत्र १० गते ८ सय ९९ जना एकैदिन भित्रिँदा स्थानीय प्रशासनले ‘रोक्न’ समेत सकेको थिएन ।

यस्तोमा अधिकारीहरूले आँकलन गरेका २८ हजार नेपालगन्ज नाकाबाट भित्रिए भने कसरी व्यवस्थापन होला ? उत्तर कसैसँग छैन ।

प्रहरीका अनुसार, बाँकेको नजिकै भारतमा १ सय ९२ जना र अलि टाढा ४ सय ९६ जना क्वारेन्टाइनमा बसेका छन् । यी मानिस त केही दिनमै नेपाल भित्रिनेमा दुईमत छैन । यसको अलावा भारतका विभिन्न ठाउँबाट रेल चढेर रुपैडिहा आइपुग्नेलाई स्थानीय प्रशासन, नेपालगन्ज उपमहानगरपालिकाले कसरी व्यवस्थापन गर्ला चिन्ताको विषय बनेको छ ।