नेपाल समाचारपत्र, ललितपुर ।
कोरोना संक्रमणको रोकथामका लागि समुदायको अग्रसरता तीव्रतामा आएको छ । काठमाडौं उपत्यकामै कोरोना संक्रमित देखिएपछि थप सतर्कता अपनाउन विभिन्न टोल सुधार समिति, क्लब, संघ–संस्थाले स्वयंसेवक खटाएर त्यसबाट बच्ने उपायहरूबारे प्रचार–प्रसारलाई तीव्रता दिएका हुन् । आफ्नो टोल छरछिमेकमा नयाँ मान्छे आएको र नआएको पनि अनुगमन गर्न थालिएको छ ।
कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको ५०औं दिनमा राजधानीमा कोरोना संक्रमित देखिएको हो । अघिपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिएको समाचार सुनेअनुसार खासै सतर्कता नअपाउनेहरू पनि बुधबारदेखि त्रसित भएका छन् ।
बुधबार निदान हस्पिटलमा कोरोना संक्रमित देखिए भन्ने समाचार तीव्र गतिमा फैलिएपछि त्रसित भएको पाइएको छ । टोल–टोलका विभिन्न नाकामा बाँसहरू राखेर समुदायस्तरमै ‘सिल’ गर्न मानिस लागेको देखिन्थ्यो ।
लकडाउनको ५१औं दिन ललितपुरको बालकुमारीवरपर त्यहाँका टोल सुधार समितिले घर–घरमै गएर कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने नियमबारे जानकरी दिँदै पर्चा वितरण गरेका छन् ।
ललितपुर भोलढोका नजिक महालक्ष्मी टोल सुधार समिति आफ्नो क्षेत्रका सबै घरहरूमा गएर भौतिक दूरी कायम गर्नुपर्ने, लकडाउनको समयमा कोठाभाडामा कसैलाई नदिने, नयाँ मान्छे आएमा सावधानी अपनाउन आग्रह गर्दै घरदैलो अभियान थालेको स्थानीय सुदर्शन शाक्यले बताउनुभयो ।
महालक्ष्मी नगरपालिकास्थित सिद्धिपुरमा यस्तो कुनै घर छैन, जसको परिवार विदेश गएको छैन । अहिले आएर यहाँ विदेशबाट आएका, वा कुनै अपरिचत व्यक्तिलाई गाउँ प्रवेशमा रोक लगाइएको छ ।
कथम्कदाचित जानैपरे त्यहाँको खटिएका स्वयंसेवकलाई नाम टिपाउनुपर्ने नियम कडाइका साथ लागू गरिएको छ । कन्ट्रयाक्ट टेसिङ गर्न सजिलो होस् भनेर नाम थर र बाँकी परिचय खुलाएपछि गाउँमा जान दिएको स्थानीय सरोज महर्जनले बताउनुभयो ।
अहिले ललितपुरको ग्ुईटोल, पिछें, पिलाछें, नागबहाललगायत भित्री बस्तीहरूको चोक–चोक र नाका–नाकामा बाँस राखेर आवागमनमा कडाइ गरिएको छ ।











प्रतिक्रिया