संक्रमण पुष्टि भएसँगै दुई बस्ती सिल


पुष्कर बुढाथोकी, भक्तपुर

संक्रमण पुष्टि भएसँगै प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको छ । कोरोना सङ्क्रमित महिला बसेको शंखधरचोकस्थित बस्तीमा बुधबार प्रहरीले सिल गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले करिब २० घर रहेको उक्त बस्तीलाई सिल गरेर नेपाल प्रहरीको सुरक्षा गस्ती खटाइएको जानकारी दिनुभयो । सिल गरेको बस्तीमा कसैलाई आउन र जान दिएको छैन ।

भक्तपुरको सुन्दरचोकदेखि शंखधर चोकसम्म मानिसलाई हिँडडुलमा रोक लगाइएको छ । संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङसमेत शुरू गरिएको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । त्यसै गरी संक्रमित सशस्त्र प्रहरी बस्दै आएको दुवाकोटको घरमा पनि सिल गरिएको छ ।

बस्तीभन्दा अलि पर रहेकाले एक घरलाई मात्रै सिल गरी सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको उहाँले जानकारी दिनुभयो । उहाँको परिवारको पनि स्वाब संकलन र परीक्षणका लागि हिजै टेकु अस्पताल पठाएको छ ।

भक्तपुरमा कार्यरत ती नर्स सुनसरीबाट आएर साथीको कोठामा यहाँ आएर बसेकी थिइन् । प्रहरीले दुवै जनाको ट्राभल हिस्ट्री पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङको काम शुरू गरिसकेको जनाएको छ ।

संक्रमित भेटिएका दुवै घरका मानिस र आसपासका समेतलाई निगरानीमा राखिएको छ । दुवैको परिवार र सम्पर्कमा आएकाहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । अहिले संक्रमित दुवै जनाको यात्रा विवरण संकलन गर्ने र उनीहरूको सम्पर्कमा आएकाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।