निदान अस्पतालमा कडाइ


काठमाडौं, (नेस) ।

नेपालमा कोरोना संक्रमणको महामारी बढेसँगै बुधबार पुल्चोकस्थित निदान अस्पतालमा कडाइ गरिएको छ ।

कोरोना संक्रमण प्रमाणित भएका सोही अस्पतालका एक कर्मचारीलाई भक्तपुर र टेकु अस्पताल लान ल्याउन अस्पतालको एम्बुलेन्स प्रयोग गरेकाले चालकको ट्रेसिङ लिनका लागि अस्पताल भित्र–बाहिर कसैलाई आवत–जावत नहोस् भन्नका लागि सुरक्षा निकायले पूर्ण प्रतिबन्ध लगाएको छ ।

अस्पताल स्रोतका अनुसार सोही अस्पतालमा कार्यरत एक कर्मचारी सुनसरी घर गएर केही दिनअघि काठमाडौ फर्किई अस्पताल आउनुपूर्व पीसीआर परीक्षण गराउन निदानको एम्बुलेन्समा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पुगेर नमुना छोडी पुनः त्यही एम्बुलेन्समा भक्तपुर फर्किएका थिए ।

उनलाई मंगलबारको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्रयाक ट्रेसिङका लागि अस्पतालमा कसैलाई आवत–जावत गर्न नदिएको अस्पतालका एक सञ्चालकले नाम नराख्ने सर्तमा जानकारी गराएका छन् ।

उक्त एम्बुलेन्स र चालकले दुईपटक संक्रमित व्यक्तिलाई ओसार–पसार गरेकाले अस्पताल परिवार, बिरामी र बिरामीका आफन्त निकै त्रसित भएका छन् । बिरामीको खानासमेत आफन्तले अस्पतालभित्र लान सुरक्षाकर्मीले रोक लगाएको बिरामीका एक आफन्तले जानकारी गराए ।