चीनबाट ३ सय ४२ टन स्वास्थ्य सामग्री आउँदै


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री शुक्रबार नेपाल आइपुग्ने भएको छ । सेनाले चीनसँग खरिद गरेको ३ सय ४२ टन स्वास्थ्य सामग्री काठमाडौं आइपुग्ने भएको हो ।

स्थलमार्ग हुँदै ल्याइएको स्वास्थ्य सामग्री तातोपानी नाकामा आइपुगेको छ भने हवाईमार्गबाट पनि केही दिनभित्र नै स्वास्थ्य सामग्री ल्याउने तयारी सेनाले गरेको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यसै साताभित्र चीनबाट स्वास्थ्य सामग्री र औषधि नेपाल आइपुग्ने बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारले दिएको जिम्मेवारीअनुसार हामीले ६७ प्रकारका औषधि र उपकरण ल्याउँदै छौं ।’

चीनको सरकारी कम्पनी सिनो फार्मसँग गरेको सम्झौताअनुसार सेनाले उक्त फार्मलाई राष्ट्र बैंकमार्फत रकम भुक्तानी गरेको सेनाका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । सेनाले चीनबाट ६७ थरीका स्वास्थ्य सामग्री र औषधि ल्याउँदै छ ।

प्रवक्ता पाण्डेले उक्त कम्पनीले सम्पूर्ण सामग्री गोन्जाउमा हवाईमार्ग र स्थलमार्गबाट नेपाल ल्याउँदै छ । अत्यावश्यक सामग्रीहरू पीपीई, एन–९५ र पीसीआर टेस्टका सामग्रीहरू चीनसँग खरिद गरेको हो ।

उहाँले भन्नुभयो– ‘२ सय ९५ टन स्वास्थ्य सामग्री तातोपानी नाकामा आइपुगेको छ, यही शुक्रबार काठमाडौं आइपुग्छ, बाँकी स्वास्थ्य सामग्री पनि केही दिनभित्र नै हवाई सेवाबाट काठमाडौं आउँछ ।’ नेपाली सेनाले चीनसँग २ अर्बभन्दा बढीको स्वास्थ्य सामग्री खरिद गरेको हो ।

यसअघि औषधि खरिदका लागि विवादस्पद ओम्नी कम्पनीलाई सरकारले बजार मूल्यभन्दा महँगोमा औषधि खरिद गर्न दिने सम्झौता गरेपछि अनियमितता भएको भन्दै विरोध भएको थियो । लगत्तै स्वास्थ्य सेवा विभागले ओम्नी गु्रपसँग सम्झौता रद्द गरेर नेपाली सेनालाई औषधि खरिदको जिम्मेवारी दिएको थियो ।