सिमानामा दुवैतिर रगतको आँसु

0
Shares

कपिल काफ्ले,काठमाडौं ।

‘मेरो घर मेजरगञ्ज, भारतको विहार हो, मेजरगञ्ज नेपालको सिमानामै पर्छ । यता सर्लाही जिल्ला उता मेजरगञ्ज । यहाँ सिन्धुपाल्चोकमा श्रीमती र काखे छोरीलाई गएको छठमा ल्याएको हुँ’ ३६ वर्षे रामरिझन यादवले मंगलबार नेपाल समाचारपत्रमा फोन गरेर भन्नुभयो, ‘सिन्धुपाल्चोकमा म फर्निचर बनाउने काम गर्थे, लकडाउन भयो, आज खुल्ला भोलि खुल्ला भन्दाभन्दै डेढ महिना बित्यो, खर्च सकियो, काखे छोरी बोकेर श्रीमती र छोरीका साथ हिंड्दै काठमाडौं आएँ, तर्कारी झारेर फर्किएको ट्रकमा पैतीस सय तिरेर पतलैया पुग्यौं, ट्रक हामीलाई त्यहाँ झारेर वीरगञ्जतिर लाग्यो’ नेपाली भाषा रैथाने नेपाली नागरिकले जस्तै बोल्ने यादवका अनुसार, उनीहरुले पतलैयाबाट मलंगबातिर जाने कुनै साधन पाएनन्, पिचैपिच हिड्नथाले । भोकप्यास सहँदै तीन दिन हिंडेपछि उनीहरु बलरा नगरपालिकाको लक्ष्मीपुर पुगे ।

‘अब हामी झण्डै आफ्नो गाउँ देख्ने ठाउँमा पुगिसकेका थियौं, मेजरगञ्ज भन्सार चौकी पनि आँखै अगाडि थियो’ यादव फोनमै रुन थाल्नुभयो, ‘हामीलाई सशस्त्र प्रहरीहरु आएर घेरे, मानौं हामी जंगली जनाबर हौं, खबरदार सिमानातिर अघि बढे राम्रो हुन्न भनेर हतियार देखाए, काखे छोरी गर्मीले आलसतालस भएकी थिई, कुनै दया गरेनन् ।त्यहीं पारि घर हो भने कति बिलौना ग¥यौं, तर उनीहरुले हामीलाई हिंडाउँदै फर्काएर पूर्व–पश्चिम राजमार्गमा ल्याएर छोडिदिएका छन्’ यादव बोल्दाबोल्दै घाँटी रोकिएर चुप लाग्नुभयो, केही छिनपछि भने– साथमा खर्च छैन, शरणमा जाउँ सबैले छिछि र दुर्दुर गर्छन्, हिंड्दाहिंड्दा खुट्टाको एकपत्र छाला गइसक्यो !’

यादवले आफ्नो कथा मात्र बताउनुभएन,, सीमा क्षेत्रमा जे देख्नुभयो त्यो पनि बताउनुभयो, करिब तीन घण्टा घरछेउमै रहेको नेपाल–भारत सिमानामा बिताएका उहाँले भारततिरबाट नेपाल प्रवेश गर्न चाहने नेपाली नागरिकको पनि त्यस्तै अवस्था रहेको बताउनुभयो । उहाँकाअनुसार, सर्लाहीको नेपाल–भारत सिमामा आवत–जावत प्रायः शून्य थियो । दशगजामा सशस्त्र प्रहरीको टोली मात्र ओहोर–दोहोर गर्दै पहरा दिइरहेको देखिन्थ्यो ।

बिहान ९ बजे भारततिरबाट मैलो कमिज र मुजा परेको पाइन्ट, हातमा प्लाष्टिकको झोला बोकेका दुई युवक दशगजा नजिकै देखिए । झुस्स दारी, अनिँदो र मलिन अनुहार अनि खिइएर प्वाल पर्न लागेका चप्पल लगाएका थिए उनीहरुले । प्रहरीको भनाइ भन्दै यादवले जानकारी दिएअनुसार उनीहरु सर्लाही बलरा नगरपालिका लक्ष्मीपुरका कैलाश कापड, वर्ष ३५ र शैलेन्द्र राम, वर्ष ३० का नागरिक थिए ।

भारतको उत्तर प्रदेश, कोइलानगरमा प्लास्टिक फ्याक्ट्रीमा मजदुरी गर्ने उनीहरु कोइलानगरबाट दरभंगासम्म बसमा र त्यँहाबाट मोतीहारीसम्म ट्रकमा आई झण्डै दिनभरको पैदल हिडेपछि सात दिनमा नेपाल सीमासम्म पुगेको कापडको कथा पनि यादवले नेपाल समाचारपत्रलाई बताउनुभयो । फ्याक्ट्री बन्द भएपछि एक महिनासम्म कम्पनीले तलबबापत खाने सुविधा दिएपनि पछि फ्याक्ट्रिबाट निकालिए । कोइलानगरबाट ४० जनाभन्दा बढी नेपाली कामदारहरु नेपालका लागि हिडेको र सिमानामै अलपत्र परेको बुझिएको छ ।

सीमादेखि लगभग एक कि.मि. दुरीमा रहेको गाउँ पुग्न २० मिनेट लाग्दैन । तर सुरक्षाकर्मीसंँगको कुराकानीपश्चात् उनीहरु भारतीय सशस्त्र सीमा बलसंँगै भारततर्फ क्वारेन्टाइनमा बस्ने गरी फिर्ता लगिए । कोभिड–१९ को संक्रमण रोक्न लकडाउन लागू भएसँंगै विदेशबाट आएका नेपालीहरु सीमा क्षेत्रमा रहेका छन् । अझ सीमावर्ती भारतीय जिल्लाहरूमा लकडाउन खुकुलो भएसँंंगै घर फर्कन खोज्ने नेपालीहरुको संख्या दैनिक बढ्दो छ ।

उनीहरु सीमामा तैनाथ सुरक्षाकर्मीका आँखा छली नेपाल प्रवेश गर्न खोजिरहेका छन्, यताबाट भारत जान खोज्ने भारतीयहरु पनि त्यत्तिकै छन् । एकातर्फ उनीहरुलाई रोक्न सुरक्षाकर्मीलाई चुनौति छ भने अर्काेतर्फ घरनजिकै पुगेर सीमापार गर्न नपाई फर्किनुको पीडा अझ अनौठो छ । व्यावहारिक तथा मानवीय पक्षलाई राज्यले ख्याल गर्न सकेको देखिन्न ।

‘व्यावहारिक हुने, मानवीय भावना देखाउने नाममा हामीले दुई मुलुकका सरकारहरुबीच भएको सहमतिलाई उल्लंघन गर्न मिल्दैन’ सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले नेपाल समाचारपत्रलाई भन्नुभयो, नेपाल–भारत सरकारबीच व्यावहारिक पाटो हेर्ने, सिमाना निकटका व्यक्तिलाई छोड्ने सहमति भयो भने हामी सोहीअनुसार काम गर्छौं, हामी नीति कार्यान्वयन गर्ने निकाय हौं, व्यावहारिक हुने नाममा भावनामा बग्न हामीलाई मिल्दैन ।

यसैगरी बलरा नगरपालिकाका मेयर अभयकुमार सिंहको समस्या अर्कैछ, ‘प्रशासनले माथिको आदेश भन्दै सिमाना पार नगराउने भनेर रोकिरहेको त देखिन्छ, तर खै कसरी हो मानिस आएका आयै छन्, सीमा क्षेत्रको समस्या राजधानीमा बस्नेहरुले बुझ्न सक्तैनन् ।’ सिंहका अनुसार उहाँसँग अस्पताल छैन उपचारका लागि, उपकरणका नाममा थर्मल गन छ ज्वरो नाप्न, औषधिका नाममा सिटामोल ।

सर्लाही जिल्लासँग भारतको सिमाना जोडिएका बसवृत्ता, मेजरगञ्ज, भेङ रेल्बे, बर्गेनिया, मोतिहारी क्षेत्रबाट नेपालीहरु नेपालतिर आइरहेका छन्, सिंहका अनुसार बलराका नागरिक नुनदेखि मलखाद, बिउबीजन सबैका लागि भारतकै बजारमा निर्भर छन्, त्यसैले पनि सिमाना नियन्त्रण सबैका लागि ठूलो समस्या बनेकोे छ ।

‘सिमाना क्षेत्रका नागरिकको कष्टदायक अवस्थालाई राजधानीमा रहेका शासकहरुले बुझ्न सकेका छैनन्, बलराका नेपाली किसानहरुले समयमा खेती लगाउन पाएनन् भने भोलि के खाने ? उनीहरु यतिखेर रगतको आँसु रोइरहेका छन्’ स्थानीय सरकारका कार्यकारी सिंहले चिन्ता देखाउनुभयो ।