सीमा विवादबारे संयुक्त संकल्प प्रस्ताव ल्याउनुपर्छ : कोइराला

0
Shares

सरोज यादव, विराटनगर ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतसँगको सीमा विवाद समाधान गर्न सत्तारुढ नेकपा र प्रतिपक्ष कांग्रेसले संयुक्त संकल्प प्रस्ताव पेश गर्नु आवश्यक रहेको बताउनुभएको छ । विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै कोइरालाले संसदबाट एउटै संकल्प प्रस्ताव पास गरेर भारत र चीनसँग वार्ता गर्नुपर्ने बताउनुभयो । “अहिले प्रमुख पतिपक्ष दल नेपाली कांग्रेस र सत्तारुद दल नेकपाले बेग्लाबेग्लै संकल्प प्रस्ताव पेश गरेका छन्,” उहाँले भन्नुभयो, “राष्ट्रियताको विषयमा सत्ता र प्रतिपक्ष हुँदैन । सबै एक भएर सीमा विवाद समाधान गर्नेतर्फ लाग्नुपर्छ ।”

उहाँले लामो समयदेखि कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद रहेकाले अब निष्कर्ष निकाल्ने गरी भारतसँग वार्तामा बस्नुपर्नेमा उहाँले जोड दिनुभयो । लिपुलेक विवाद भारतसँग मात्रै वार्ता गरेर समाधान नहुने कोइरालाको कथन छ । उहाँले भारतसँगै चीनसँग पनि वार्ता गर्नुपर्नेमा जोड दिनुभयो । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीन स्वशासित तिब्बत जोड्ने सडक निर्माण गरेको छ । जसको नेपालले विरोध जनाइसकेको छ । कोइरालाले संसदबाट पारित संकल्प प्रस्तावसहित सुगौली सन्धिदेखि हालसम्मका सन्धि सम्झौताका साथै सबै किसिमका प्रमाणका साथ वार्तामा बस्नुपर्ने औंल्याउनुभयो ।

“यदि सबै डकुमेन्ट नेपालसँग नभए ब्रिटिस लाइब्रेरीमा गएर भए पनि खोजेर ल्याउनुपर्छ,” नेता कोइरालाले थपे, “प्रमाणसहित वार्तामा बस्यो भने निष्कर्षमा पुग्न सकिन्छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिमा भारतले सडक बनाएको बारे थाहा छैन भन्नु आश्चर्यजनक भएको उहाँको भनाइ थियो । कोइरालाले भने, “परराष्ट्रमन्त्री भारतले सडक बनाएको सरकारलाई थाहा थियो भन्नुहुन्छ, त्यही सरकारका प्रधानमन्त्री आफूलाई थाहा नभएको बताउनुहुन्छ । यो जग हसाउने काम हो ।” कोइरालाले भारतसँगको सीमा विवाद समाधान गर्न राजनीतिक र कूटनीतिकबाहेक अर्को विकल्प नभएको समेत उल्लेख गरे ।

वडास्तरमा सर्वपक्षीय संयन्त्र बनाउनुपर्छ

नेता कोइरालाले वडास्तरमा सर्वपक्षीय संयन्त्र बनाएर राहत वितरण गर्न सुझाव दिए । कोरोनाको महामारीसँग लड्न स्थानीय तहको वडास्तरमा सर्वपक्षीय संयन्त्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “केन्द्र, प्रदेश र जिल्ला तहमा संयन्त्र आवश्यक छैन,” उनले थपे, “यदि सर्वपक्षीय वा सर्वदलीय जे भए पनि वडा तहमै संयन्त्र बनाउनुपर्छ ।

भूकम्पको बेला स्थानीय तह नभएकाले त्यो समयमा केन्द्रमा समेत सर्वदलीय संयन्त्र जरुरी थियो ।” सर्वपक्षीय संयन्त्रमार्फत राहत वितरण गरिए निष्पक्ष र विवादरहित हुने नेता कोइरालाले दाबी गर्नुभयो । कोइरालाले विदेशमा रहेका नेपालीको तत्काल उद्धार गर्न माग गरे । “विदेशमा समस्यामा परेका नेपाली उद्धार गर्नु सरकारको दायित्व हो,” कोइरालाले भने, “अहिले देशमा सरकार छ र भन्ने अवस्था देखिएको छ ।”

उहाँले संसदबाट संकल्प प्रस्ताव पास गरेर सबै एकजुट भएर कोरोनाविरुद्धको लडाइँमा लाग्नु जरुरी रहेको उल्लेख गर्नुभयो । आरडीटीसँगै पीसीआर परीक्षणलाई पनि तीव्रता दिनुपर्ने कोइरालाको भनाइ थियो । कोइरालाले अहिले अर्थतन्त्रभन्दा जीवन बनाउनु ठूलो भएकाले सबै क्षेत्र सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाले जीडीपीको १० प्रतिशत राहत प्याकेज घोषणा गर्न पनि आग्रह गर्नुभयो । कोइरालाले नोना कोइराला स्मृति प्रतिष्ठानमार्फत उदयपुरका लकडाउनबाट प्रभावितका लागि राहत वितरण गरेका छन् । उदयपुर कांग्रेसमार्फत भुल्केका लकडाउनबाट प्रभावितलाई ३० क्वीन्टल चामल हस्तान्तरण गर्नुभयो । त्यस्तै मास्क र सेनिटाइजर पनि हस्तान्तरण गर्नुभयो ।