भक्तपुरमा दुई जना कोरोना भाइरस संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङ सुरु


पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरमा मंगलबार देखिएका दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित देखिएपछि दुवै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु भएको छ । दुबै संक्रमितको बस्ने ठाउँ र सम्पर्कमा आएका ब्यक्तिको खोजी गरी कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु गरिएको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सुमित्रा गौतमले बताउनुभयो ।

संक्रमित भेटिएका दुबै घरका मानिस र आसपासका समेतलाई निगरानीमा राखीएको छ ।दुबैको परिवार र सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । अहिले संक्रमित दुवै जनाको यात्रा विवरण संकलन गर्ने र उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

दुबै संक्रमितलाई उपचारको दायरामा ल्याएर अस्पताल भर्ना गरिएको छ ।महिलालाई भक्तपुर अस्पतालको आईसोलेसनमा र पुरुषलाई टेकु अस्पताल भर्ना गरिएको छ ।संक्रमितमध्य २५ वर्षीया महिला वैशाख २९ गते सुनसरीबाट मोटरसाइकलमा आएको खुलेको छ । उनी आरोग्य फाउण्डेसन जाउलाखेलमा कार्यरत रहेको खुलेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

संक्रमित महिला सुनसरीबाट आएर मध्यपुर थिमि नगरपालिकाको नयाँ ठिमीमा रहेको साथीको डेरामा बसेकोले साथीलाई समेत निगरानीमा राखेर स्वाब परीक्षण गरिदै छ ।डेरावाल साथी मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत स्टाफ नर्स रहे पनि संक्रमित साथीसँग सम्पर्कमा रहे पछि उनी काम गर्न नगएको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालयले उच्च सर्तकता अपनाएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेको अनुसार दुबै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइएको छ । उनीहरुको केही दिन यताको भेटघाट र गतिविधिको बारेमा जानकारी प्रशासनले लिएको छ । भक्तपुर भित्रने र बाहिरने नाकामा कडाई गर्ने तयारी गरेको हो ।चाँगुनारायण नगरपालिकाले संक्रमित देखा परेको स्थान वरपर र नगरका अन्य स्थानका करिब ३ सयको स्वाव परीक्षण गर्ने नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो ।
यता अर्का क्रमित देखिएको भक्तपुरको सुन्दरचोकदेखि शंखधर चोकसम्म मानिसहरुलाई हिडडुलमा रोक लगाइएको छ ।संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङ समेत शुरु गरिएको मध्यपूर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबार भक्तपुरका दुई र काठमाडौंमा एक जना गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको छ । जसमध्ये, १८ जना पर्सा, २ जना धनुषा, २ जना महोत्तरी र एक जना सर्लाहीको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।