न्युज अफ नेपाल, कीर्तिपुर ।
नगरपालिकाद्वारा खडा गरिएको कोरोनाभाइरस संक्रमण राहतकोषमा कीर्तिपुर मैत्री समाजले बुधबार २५ हजार रुपियाँ सहयोग गरेको छ ।
कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्कालाई समाजका अध्यक्ष डा. नेत्रप्रसाद पौडेलले मेयरकै कार्यकक्षमा गएर सो रकम हस्तान्तरण गर्नुभएको हो ।
‘रकम त निकै सानो हो, तर समाज सेवाका लागि स्थानीय सरकारले थालेको प्रयासमा स्थानीय सामाजिक संस्थाका सदस्यहरुको ऐक्यवद्धता जनाउने उद्देश्यले यो सुरुवाती अभिव्यक्ति मात्र हो’ डा. पौडेलले नगद हस्तान्तरण गर्दै भन्नुभयो ।
समाजका सचिव गणेश खनालले कीर्तिपुर श्रेत्रमा हाल कोरोनाभाइरसको संक्रमण पनि खासै नदेखिएको र गैरराजनीतिक तथा मुनाफारहित गुठी स्वरुपको संस्थासँग ठूलो रकम पनि नहुने अवस्था उल्लेख गर्दै हालका लागि यतिमात्र सहयोग गरे पनिभोलि परेको बेलामा पुनः सहयोग गर्नसक्ने प्रतिवद्धता जनाउनुभयो ।
समाजका सदस्यतीर्थ सापकोटाले नगरपालिकाको कार्य अझ बढी न्यायिक र पारदर्शी हुनसके सहयोगको मात्रा बढ्दै जाने बताउँदै स्थानीय सरकारसँग ऐक्यवद्धताका साथ काम गर्ने तत्परता देखाउनुभयो ।
कीर्तिपुर मैत्री समाज मुलुकका विभिन्न भूभागबाट कीर्तिपुर नगरपालिका क्षेत्रमा आई स्थायी बसोबास गर्ने नागरिकहरुको समाजहो । एक दशकदेखि सक्रिय यस संस्थामा अधिकांशतः शैक्षिक तथा बौद्धिक क्षेत्रमा काम गर्ने करिब ५० घरपरिवार सदस्य रहेका छन् ।











प्रतिक्रिया