रकम लिँदै सीमा वारपार गर्दै बिचौलिया


नेपाल समाचारपत्र, विराटनगर

लकडाउनको समयमा बन्द रहेको नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाबाट बिचौलियाहरूले रकम लिएर मानिसलाई वारपार गराउने गरेको खुलासा भएको छ । रकम लिएर सीमा कटाउने क्रममा विराटनगरमा दुई जना बिचौलिया समातिएपछि यस्तो खुलासा भएको हो ।

रकम लिएर ४ जना भारतीयलाई सीमा कटाउन लाग्दा सीमा क्षेत्रमा खटिएका प्रहरीले विराटनगर–१८ बुधनगरको दशगजा क्षेत्रबाट ४ जना भारतीयसँगै दुई जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका २ जना विराटनगर–६ सरौचियाका ३८ वर्षीय मुबारक हुसैन र सोही ठाउँका २६ वर्षीय अख्तर आलम रहेका छन् । उनीहरूले सुनसरी–मोरङ औद्योगिक करिडोरमा काम गर्ने ४ जना भारतीय मजदुरलाई सीमा कटाइदिने सर्तमा प्रतिव्यक्ति भारु १ हजारका दरले रकम लिएका थिए ।

सीमा कटाउनै लाग्दा स्थानीयवासीको सहयोगमा प्रहरीले भारतीय मजदुरसहित बिचौलियालाई समेत नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएका दुई जनाविरुद्ध अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो । सीमा कटाउन लागिएका व्यक्तिहरू भारत राजस्थानबाट काम गर्न अएका भारतीय मजदुर हुन् ।

उनीहरू सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेको कमला स्टिलमा काम गर्दै आएका थिए । १ हजार भारुमा सीमा कटाइदिने कुराकानी भएपछि आफूूहरू मंगलबार बिहान विराटनगर हुँदै सीमा क्षेत्र आइपुगेको मजदुरहरूले बताएका छन् ।

मंगलबार मध्यराति नै भारततर्फबाट १५ जना नेपाली युवासमेत नेपाल प्रवेश गरेका छन् । रातको १ बजे सीमानाका हुँदै नेपाल प्रवेश गर्ने क्रममा प्रहरीले उनिहरूलाई नियन्त्रणमा लियो र होल्ड गरेर राख्यो । होल्ड गरिएकाहरूमा ११ जना दिल्लीबाट र ४ जना विहारमा रोजगारीबाट फर्किएका हुन् ।

लकडाउन शुरू भएयता अन्तर्राष्ट्रय सीमाबन्द भएपछि केही व्यक्ति गिरोह बनाएर दुई देशका नागरिक वारपार गराउन सक्रिय रहेको र उनीहरूले मौका हेरेर मानिसलाई सीमा कटाउने गरेको स्थानीय श्रीप्रसाद यादवले जानकारी दिनुभयो ।

सुरक्षाकर्मीहरूको पातलो उपस्थितिको मौका छोपेर राति–रातिसमेत मानिसलाई सीमा वारपार गराउने गरिएको उहाँको भनाइ छ । नेपाल तथा भारत दुवै देशको बोर्डर सिल गरिए पनि सीमामा अझै अवाञ्छित गतिविधि गर्नेहरू सक्रिय रहेको स्थानीयले बताएका छन् ।