कोरोना कहर: सिमेन्ट उद्योगमा दैनिक ७० करोड नोक्सान



राजु श्रेष्ठरपरिर्वतन देवकोटा, काठमाडौं

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण निर्माण कार्य ठप्प हुँदा आत्मर्निभर उन्मुख रहेको मुलुकको सिमेन्ट उद्योग गम्भीर समस्यामा परेको उद्योगीहरू बताउँछन्। लकडाउनका कारण सिमेन्ट उद्योगमा दैनिक ७० करोड रुपियाँबराबरको क्षति पुगेको छ।

सरकारले लकडाउन केही खुकुलो पार्दै उद्योगहरू चलाउन दिए पनि बजार पूर्ण रूपमा नखुलेसम्म सिमेन्ट उत्पादन तथा बिक्री गर्न नसकिने उद्योगीहरूको भनाइ छ।

‘अहिले सिमेन्ट उत्पादन गर्ने अवस्था छैन, हामीले सिमेन्ट बढीमा २/३ दिनसम्म मात्रै स्टक राख्न सकिन्छ। बजार बन्द हुँदा सिमेन्ट कहिलेसम्म स्टक रहन्छ भन्न सकिने अवस्था छैन,’ नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा भन्नुहुन्छ। उहाँका अनुसार सिमेन्ट उद्योगबाट राजस्व मात्रै २५ करोडभन्दा बढी गुमेको छ।

उहाँका अनुसार उद्योग खुले पनि बजार पूर्ण रूपमा नखुल्दा निर्माणका कामसमेत थोरै मात्र सञ्चालनमा आएको छ। जसका कारण उत्पादित सिमेन्ट स्टकमा रहने र पछि बिग्रिने अवस्थासमेत आउने हुँदा उद्योग संकटमा छ।

बिस्तारै खानी पनि सञ्चालन हुन नसक्ने भन्दै उहाँले यस्तै अवस्था रहिरहे आगामी पुस महिनासम्म सिमेन्ट उत्पादन नहुने भन्दै चिन्ता प्रकट गर्नुभयो। कोरोना भाइरसको संक्रमणको जोखिम कति हुन्छ वा कहिलेसम्म हुन्छ भन्ने नै थाहा नहुँदा उद्योग संकटमा पर्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो–‘कोरोना कहर कहिलेसम्म हुन्छ थाहा छैन, बजार खुलिहाले पनि सिमेन्टको माग कम हुन्छ। सप्लाई र डिमान्डबीचको चेन ब्रेक हुँदा हामीलाई गाह्रो हुन्छ।’

यस्तै कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि लकडाउन जारी भएसँगै सिमेन्ट उद्योग सञ्चालन गर्ने वातावरण नै नभएको अग्नी सिमेन्टका प्रबन्ध निर्देशक डा। ताराप्रसाद पोखरेलले बताउनुभयो। नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले लकडाउन जारी हुँदै गर्दा मजदुरहरू घर गएको र अहिले उनीहरूलाई फर्काएर काममा लगाउन सक्ने अवस्था नभएको भन्दै मजदूर नै नभएपछि उद्योग खोल्न नसकिने बताउनुभयो।

मुलुकमा सबैभन्दा धेरै लगानी रहेको सिमेन्ट उद्योगमा कोरोनाले निकै ठूलो असर पारेको अम्बे सिमेन्टका प्रबन्ध निर्देशक हरि न्यौपाने बताउनुहुन्छ। पर्यटन उद्योगमा असर पारेजस्तै सिमेन्ट उद्योगमा कोरोनाले निकै नै असर पार्ने उहाँले स्पष्ट पार्नुभयो। कोरोनाको असरसँगै वर्षायाम शुरू हुन लागेकाले नेपालमा सिमेन्ट उद्योग दोहोरो मारमा पर्ने बाध्यता रहेको उहाँको भनाइ छ।

अबको एक महिनापछि खानीबाट चुनढुंगा ल्याउन सक्ने अवस्था नहुने बताउँदै उहाँले अहिले सिमेन्ट उद्योग बन्दकै अवस्थामा रहेको बताउनुभयो। मुलुकभर ६२ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन्। लकडाउनका कारण प्रत्यक्ष रूपमा संलग्न २० हजार कर्मचारीको रोजगारी संकटमा परेको डा। पोखरेलले बताउनुभयो।

कोरोनाले सिमेन्ट उद्योगमा पार्ने असर कम गर्नका लागि सरकारले ठूलो छातीले मजदुर, उद्योगी, व्यापारी सबैलाई बचाउनुपर्ने अध्यक्ष थापा भन्नुहुन्छ। कोरोनाले थिलथिलो पारेको अर्थतन्त्र उकास्न मजदुरदेखि मालिकसम्मको उत्तिकै महत्वपूर्ण भूमिका रहने भन्दै उहाँले उद्योगलाई बचाउन सके रिकभरी ग्राफ छिटोमाथि जाने उहाँले सुनाउनुभयो।

‘सरकारले उद्योग व्यापारलाई बचाउने ढंगले प्याकेज ल्याउनुपर्छ, जसका लागि विज्ञहरूसँग व्यापक छलफल गरेर विकल्प तयार पार्नुपर्छ,’ उहाँले भन्नुभयो।

सरकारले उद्योगीलाई बचाउने मनशाय राखेर काम गरे अर्थतन्त्र छिटो माथि जाने बताउँदै उहाँले विशेष प्याकेज नै ल्याएर अघि बढ्नुपर्ने सुझाउनुभयो। अध्यक्ष थापाले विशेष प्याकेजमा सरकारले ब्याज कम गर्ने, अतिरिक्त ऋणको व्यवस्था मिलाउनेजस्ता कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभयो।

उद्योगधन्दा नचलेसम्म अर्थतन्त्रमाथि नजाने बताउँदै उहाँले समृद्धिका लागि उद्योगीलाई सहुलियतको व्यवस्था गर्ने, पेनाल्टी कम गर्ने, ट्याक्स होल्ड गर्ने जस्ता प्याकेज ल्याउनुपर्ने बताउनुभयो। ‘कमाएको पैसा खाल्डो खनेर राख्ने अवस्था आउन नदिन सरकारले लगानीमा वृद्धि तथा प्रोत्साहन गर्नुपर्छ,’ उहाँले भन्नुभयो। सरकारले विशेष गरी उदार भावमा नै कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ।

उद्योग नै नरहे अर्थतन्त्र चलायमान हुन नसक्ने र आर्थिक समृद्धिको यात्रा पनि सहज नहुने बताउँदै डा। पोखरेलले सरकारले विज्ञ तथा उद्योगीहरूसँग छलफल गरेर नीति लिनुपर्ने बताउनुभयो। कपिलवस्तुमा मात्रै १० वटा सिमेन्ट उद्योग रहेको भन्दै त्यहाँ‘शिल’ गरिएको अवस्था रहेकाले उद्योगमा धेरै नै घाटा हुने बताउनुभयो।

कोरोनाको उच्च जोखिम रहेको ठाउँमा ‘शिल’ गर्दा क्षति कति भयो भन्ने नै आंकलन गर्न नसकिने बताउनुभयो। उहाँले बजेटले उद्योगीको समस्यालाई विशेष सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। सरकारका आयोजनालाई सकेजति छिटो सञ्चालन गर्नुपर्ने अम्बे सिमेन्टका प्रबन्ध निर्देशक न्यौपाने भन्नुहुन्छ।

उद्योगीहरूले सरकारसँग राहत मागिरहेको बताउँदै उहाँले भन्नुभयो–‘बिरामी उद्योगलाई बचाउन सरकारले बैंकको ब्याज घटाउनुपर्छ।’ बैंकले लगाउने ब्याजबाट उद्योगी बढी पीडित हुने बताउँदै सरकारले यसमा विशेष कदम चाल्नुपर्ने बताउनुभयो। सरकारले उद्योगहरूलाई चलायमान बनाउनका लागि कंक्रिट सडक बनाउने पोलिसी ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो।

‘सिमेन्ट उद्योग संकटमा छन्’

बजार पूर्णरूपमा नखुलेसम्म सिमेन्ट उत्पादन तथा बिक्री गर्न सकिँदैन। बजार नखुुल्दा उद्योग खुले पनि उत्पादित सिमेन्ट स्टकमा रहने र पछि बिग्रिने अवस्थासमेत आउने हुँदा उद्योग संकटमा छ।

‘मजदुर फर्काउने अवस्था छैन’

लकडाउनसँगै मजदुरहरू घर गएका छन्, उनीहरूलाई फर्काएर ल्याएर काममा लगाउने वातावरण छैन। सरकारले विज्ञ तथा उद्योगीहरूसँग छलफल गरेर नीति निर्माण गर्न आवश्यक छ।

 

‘उद्योग बचाउन ब्याज घटाउनुपर्छ’

कोरोनाको असरसँगै वर्षायाम शुरू हुन लागेकाले नेपालमा सिमेन्ट उद्योग दोहोरो मारमा पर्ने बाध्यता छ। बिरामी उद्योगलाई बचाउन सरकारले बैंकको ब्याज घटाउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्