सीमा क्षेत्रमा थप जटिलता उत्पन्न हुने कुनै कार्य नगर्न भारतलाई ओली–प्रचण्डको चेतावनी

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं ।

भारतले नेपालको भूभाग अतिक्रमण गरेर सडक निर्माण गरेकोप्रति सत्तारुढ दल नेकपाले कडा रुपमा आपत्ति जनाएको छ । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै तत्काल सडक निर्माणको काम रोक्न भारतसँग आग्रह गर्नुभएको छ ।

विज्ञप्तीमा भारतले नेपाली भूमि हुदैँ निर्माण गरेको सडकले नेपालको सार्वभौमिकताको अवमुल्यन गरेको बताइएको छ । संयुक्त वक्तव्य जारी गर्दै अध्यक्षद्धयले सडक निर्माण गर्ने कार्यले सार्वभौमिकताको अवमुल्यन गरेको बताउनुभएको हो ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार नेपालको लिपुलेक पास हुदैँ चीनको मानसरोवर जोड्ने सडकको उद्घाटन गरेको थिए। नेपाल सरकारले उक्त कार्यलाई खेदजनक भनेको छ। नेकपाले सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको उल्लेख गरेको छ। नेपालले पटकपटक सचिव स्तरिय वार्ता मार्फत् सीमा विवाद सुल्झाउन गरेको पहललाई भारतले वेवास्ता गरेको नेकपाको वक्तव्यमा उल्लेख छ।

साथै नेकपाले तत्काल सडक निर्माणको कार्य रोक्न माग गरेको छ। सीमा क्षेत्रमा थप जटिलता उत्पन्न हुने कुनै कार्य नगर्न समेत भारतलाई नेकपाले आग्रह गरेको छ।