काठमाडौं,
आज विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस । रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको १९२ औं जन्म दिवसका अवसरमा विश्व स्तरमा मनाइदै आएका यो दिवस नेपालमा पनि कोभिड तथा बन्दाबन्दीको समयमा अग्रपंतिमा रही सेवा गर्ने सम्पूर्ण स्वयंसेवक तथा कर्मचारीहरुलाई लक्षित गरी सम्मानपूर्वक ‘ताली बजाउनुहोस्’ (KeepClapping) भन्ने मूल नाराका देशभरि विविध गतिविधिको आयोजना गरी मनाईंदैछ ।
विश्वका जुनसुकै ठाउँमा रहेर रेडक्रसका १ करोड ३७ लाख स्वयंसेवकहरुले कोभिड १९ पूर्वतयारी र प्रतिकार्य लगायत गरिआएका विविध मानवीय सेवालाई स्मरण गर्ने र उनीहरुको साहस बढाउने अवसरको रूपमा लिइएको यस दिवसमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापा, नेपाल स्थित रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको कार्यालय प्रमुख हर्भे गाजेउ (Herve Gazeau) र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको नेपाल मिसन प्रमुख श्री जेरोम इम्स्टेम्फ (Jerome Imsepf) ले ऐक्यवद्धता स्वरुप आज दिनुभएको संयुक्त भिडियो शन्देशमा कोभिड १९ परिस्थितिमा अग्रपंतिमा रही त्रासदीपूर्ण बेलामा पनि विश्वभरमा सहयोग दिने समुदायका अगुवाहरु, रक्तसञ्चार सेवामा कार्यरत प्राविधिक र स्वयंसेवकहरु, रक्तदाताहरु लगायत नेपालभरीका सम्पूर्ण रेडक्रसकर्मीहरुलाई ताली बजाएर हार्दिक धन्यबाद र आभार व्यक्त गर्नुभएको छ ।
नेपालमा भीड नगरी फरक तरिकाले यो दिवस मनाइने कार्यक्रम छ । यस अवसरमा अग्रपंतिमा रही सेवा गर्ने कर्मचारी र स्वयंसेकहरुको सम्मान स्वरुप सामाजिक सञ्जालमा तालीको संकेत दिने, स्वयंसेवक र कर्मचारीहरुको अनुभवका कथाहरु पोष्ट गर्ने, नेतृत्वको शन्देश प्रसारण गर्ने तथा अग्रपंतिमा कार्यगर्ने संघ संस्थालाई धन्यवाद दिने, कतिपय अस्पतालका विरामीहरुलाई फलफुल वितरण जस्ता गतिविधिहरु देशभरी सञ्चालन भैरहेका छन् ।
नेपाल रेडक्रसले ‘ताली बजाउनुहोस्’ (KeepClapping) विषयमा आयोजना गरेको फोटो प्रतियोगितामा अहिलेसम्म २०० वढी तस्वीरहरु प्राप्त भएका नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो- ‘रेडक्रसकर्मीहरूले ताली बजाएको छोटो भिडियो र उत्कृष्ट कार्यहरूको कथा विविध सञ्जालमार्फत् आइरहेका छन् र रेडियोबाट अनुभवका कथाहरु प्रसारण गरिएका छन् ।’
रेडक्रसको संगठन अहिले १९२ देशमा फैलिएको छ र अहिले स्थानीय साझेदारहरुको सहयोगमा कोभिडको पूर्वतयारी र प्रतिकार्यमा साझा अवधारणा बनाई रेडक्रस अभियानका अंगहरु अघि बढिरहेका छन् ।
नेपालको साझा अवधारणापत्रमा भनिएको छ- ‘यो आपत्कालीन परिस्थितिमा सरकारले मात्र महामारी रोक्न नसक्ने हुँदा यसमा सबैको अर्थात् व्यक्ति, समुदाय, संस्था, सरकार तथा दाताहरू सम्पूर्णको ऐक्यबद्धता तथा सक्रियता आवश्यक हुन्छ ।’
नेपाल रेडक्रसको अगुवाईमा सञ्चालन हुने कोभिड गतिविधिमा समुदायहरूमा ५ मुख्य सेवा कार्यक्रम समेटिएका छन् । जसअनुसार स्वास्थ्य तथा सेवा, पानी, सरसफाइ तथा स्वच्छता, जोखिमका बारेमा सञ्चार/सामुदायिक संलग्नता तथा जवाफदेहिता, संरक्षण, लैंगिकता र समावेशीकरण र आवास तथा सहयोग कार्यक्रम सञ्चालन हुनेछन् ।
अहिलेसम्म नेपाल रेडक्रसमार्फत भएको कोभिड प्रतिकार्य गतिविधि अन्तरर्गत २ लाख ४६ हजार मानिसलाई व्यक्तिगत शुरक्षा सामग्री वितरण, २७४ जनालाई मनोबैज्ञानिक सहयोग, २४२ एम्बुलेन्स सञ्चालन, ६ हजार २ सय ५० जनालाई हातधुने कक्षा सञ्चालन भएका छन् । त्यस्तै क्वारेन्टाइन सहयोग अन्तरगत ८ हजार ८ सय ८६ कम्बल, एकहजार एक सय चवालीस त्रिपाल र ३ सय ४४ टेन्ट, २ हजार ५ सय २५ झुल वितरण गरिएको छ । ७ सय १९ तन्ना र एकहजार पाँचसय पन्चानव्वे गुन्द्री उपलव्ध गराइएको छ । निशुल्क कल सेन्टर ११३० सञ्चालनमा ल्याइएको छ र १२६ अंक रेडियो कार्यक्रम बजाइएको छ ।











प्रतिक्रिया