निजी क्षेत्रले माग्यो तत्काल राहत प्याकेज

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

उद्योगी, व्यवसायीले लकडाउनको कारण बन्द हुने अवस्थामा पुगेका उद्योग प्रतिष्ठान सञ्चालन गर्न सरकारले तत्काल राहत प्याकेज ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको अर्थ समितिको बिहीबारको बैठकमा सहभागी उद्योगी व्यवसायीहरूले आगामी वर्षको बजेटमार्फत राहत प्याकेज घोषणा गर्न माग गरेका हुन् ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अहिले निजी क्षेत्रको मनोबल गिरेको भन्दै त्यसलाई माथि उठाउन राहत प्याकेज चाहिने बताउनुभयो ।

‘निजी क्षेत्रको अहिले मोरल एकदम डाउन भइसकेको छ । अहिले यो अवस्थाबाट हामी कसरी बाहिर निस्कने र कसरी बाँच्छौं भन्ने कुरा सबै निजी क्षेत्रले अहिले सोचिरहेको छ । यस्तो बेलामा चाँडोभन्दा चाँडो एउटा कुनै प्याकेज सरकारबाट आएन भने निजी क्षेत्रको मनोबल अझ खस्किन्छ ।’ उहाँले भन्नुभयो ।

बैंकको ब्याजदर पाँच प्रतिशतमा ल्याउनुपर्ने, पुनर्कर्जा कोषलाई एक खर्ब पु¥याई कर्जा पाउन सहज बनाइनुपर्ने, पुनर्कर्जाको समय अवधि ६ महिनाबाट २ वर्ष पु¥याइनुपर्ने, साना तथा मझौला व्यवसायीलाई पनि पुनर्कर्जा दिनुपर्ने उनले माग गर्नुभयो ।

त्यस्तै पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगहरूले लकडाउनको अवस्थामा ५० प्रतिशत मात्र तलब भुक्तानी गरे हुने व्यवस्था गर्न पनि उहाँले माग गर्नुभयो ।

छलफलमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले सरकारले सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रबाट उठाउँदै आएको रकमलाई पुनर्कर्जा कोषमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले गाउँमा हुने उत्पादन, घरेलु र साना उद्योगबाट हुने उत्पादन बढाउन पनि विशेष ब्याजदरमा रकम दिनुपर्ने बताउनुभयो ।

उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले अहिले सञ्चालनमा रहेका उद्योगहरूलाई पुनः सञ्चालन गर्नका लागि नै आफूहरूले सरकारसँग सहयोग मागिरहेको बताउनुभयो । उहाँले सरकारले नयाँ उद्योग सञ्चालन भन्दा पनि अहिले भइराखेका उद्योगहरूलाई नै सहज रुपमा सञ्चालन गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अर्थतन्त्रमा कृषिपछिको योगदान पूर्वाधार क्षेत्रको रहकोले सरकारले बजेट मार्फत पूर्वाधारका लागि विशेष प्याकेज ल्याउनुपर्ने बताउनुभयो । लकडाउनका कारण निर्माण व्यवसायीले बैंकबाट लिएको ३ खर्ब ४१ अर्ब रुपियाँ ऋणको किस्ता भुक्तानी गर्न सक्ने अवस्था नरहेको सिंहको भनाइ छ ।

उहाँले निर्माण क्षेत्रका लागि पनि पुनर्कर्जाको सुविधा नदिए बैंकिङ क्षेत्रमा मात्र नभई अर्थतन्त्रमा नै समस्या आउन सक्ने र आगामी चैतसम्म कर्जाको किस्ता तिर्नसमेत नसक्ने बताउनुभयो ।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले घरेलु तथा साना उद्योग सञ्चालनका लागि सरकारले सहजता प्रदान गर्नुपर्ने बताउनुभयो ।