काठमाडौं, (नेस)
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि आफू सदा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आज वैशाख २६ गते कानुन दिवसको उपलक्ष्यमा प्रधानन्यायाधीश जबराले सन्देश जारी गर्दै स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनमा कहीं कतैबाट आँच आउन नदिन आफू सचेत, गम्भीर र संवेदनशील रहेको स्पष्ट गर्नुभएको छ ।
कोरोना भाइरसको महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको उल्लेख गर्दै उहाँले यसबाट न्याय प्राप्तिमा पुग्न गएको असरलाई परिस्थितिजन्य बाध्यताका रूपमा बुझ्न पनि आग्रह गर्नुभएको छ ।
उहाँले कोरोना भाइरसबाट देश–विदेशमा संक्रमण भएका नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँले उच्च मनोबल, सकारात्मक सोच तथा आत्मसंयम नै यसको रोकथाम र नियन्त्रणको उपयुक्त विकल्प रहेको स्मरण गर्नुभएको छ ।











प्रतिक्रिया