काठमाडौं (नेस) ।
कुल ४० जिल्लाका ६२ पत्रकारले लकडाउनको अवस्थामा इन्टरनेट प्रविधिको प्रयोग गरेर बिहीबार एक साता लामो विपत् व्यवस्थापन तालिम पूरा गरेका छन् ।
नेपाल प्रेस इन्स्टिच्युटको आयोजना तथा बेलायतस्थित बर्नमथ युनिभर्सिटीको सहयोगमा सम्पन्न यस तालिममा विपत्को समयमा पत्रकारले समेट्नुपर्ने विषय र अंगीकार गर्नुपर्ने गाम्भीर्यका विषयमा विस्तृत छलफल भयो ।
बर्नमथ युनिभर्सिटीका प्रा. आइनार थोरसन र डा. चिण्डु श्रीधरणले स्रोत व्यक्तिका रूपमा छापा, प्रसारण र अनलाइन माध्यममा सक्रिय नेपाली पत्रकारलाई प्रशिक्षण दिनुभएको थियो । थोरसन बर्नमथ युनिभर्सिटीस्थित मिडिया तथा सञ्चार विभागका कार्यकारी डीन पनि हुनुहुन्छ ।
प्रेस इन्स्टिच्युटका तर्फकाट वरिष्ठ पत्रकार कपिल काफ्ले, मन्टेश्वरी राजभण्डारी, लक्ष्मण उप्रेती र मोहन नेपालीले सहजीकरण गर्नुभएको थियो । यसै गरी विज्ञ प्रशिक्षक विज्ञान शर्माले पनि सहभागीलाई तालिम दिनुभयो ।
कुल १ सय २८ पत्रकारले तालिमका लागि निवेदन दिएकोमा ६२ सहभागीलाई मात्र यसपटकका लागि छानिएका थिए । नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष नीलकण्ठ उप्रेतीले बिहीबार कार्यक्रमको समापन गर्दै पत्रकारको चाहनालाई सम्मान गर्दै अर्को समूहका लागि पनि तालिम दिने तयारी भइरहेको जानकारी दिनुभयो ।
समापनकै क्रममा महासचिव लक्ष्मण हुमागाईंले लकडाउनका समयमा पनि समय निकालेर प्रक्षिणमा सहभागी भएकोमा सम्पूर्ण पत्रकारप्रति आभार प्रकट गर्नुभयो ।
सहभागी पत्रकारले तालिमको ज्ञानको सदुपयोग गर्दै कोरोना भाइरसको महामारीलगायतका विपत्का विषयमा कम्तीमा एक–एक थान समाचार तयार पारेपछि प्रमाणपत्र पाउने व्यवस्था छ ।












प्रतिक्रिया